थपलियाको सुनुवाई बुधवार, न्यायाधीशको बिहीवार

0
Shares

काठमाडौं ।
निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाई बुधवार हुने भएको छ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाई बिहीवार हुनेछ ।

थपलियासँगै प्रस्ताव गरिएकी समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको सुनुवाई पनि बुधबार नै हुनेछ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले सुनुवाईसम्बन्धी कार्यतालिका बनाएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताउनुभयो । मंगलबारको बैठकमा उजुरी खोलेर संसदीय सुनुवाई समितिका सदस्यलाई वितरण गरिएको थियो ।

थपलिया, ओझा र प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुलाई बुधबार ११ बजे बोलाइएको छ भने २ बजे बस्ने बैठकले सुनुवाई गर्नेछ । प्रस्तावित न्यायाधीशको सुनुवाई बिहीबार दिउँसो २ बजे हुने कार्यतालिका छ । थपलियाविरुद्ध ६, प्रस्तावित न्यायाधीशको सिफारिस प्रक्रिया र व्यक्तिविरुद्ध ५ उजुरी परेका छन् । समावेशी आयोगको सदस्यमा प्रस्तावित ओझाविरुद्ध कुनै उजुरी परेको छैन ।

संसदीय सुनुवाई समितिले १० दिनको समय दिएर उनीहरुविरुद्ध गुनासो तथा उजुरी आव्हान गरेको थियो ।