संकलन केन्द्र र हाटबजारले ल्यायो किसानहरूको खुशी

0
Shares

लमजुङ ।
लमजुङमा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले संकलन केन्द्र र हाटबजारको प्रवन्ध गरिएको छ । मस्र्याङ्दी बहुउदेश्य कृषि सहकारी संस्था लि.ले सो कार्य गरेको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा खुदी बजारमा स्थानीय क्षेत्रमा कृषकले उत्पादनलाई लक्षित गरी कृषि उपजहरूको संकलन केन्द्र तथा हाटबजार सुरु गरेपछि स्थानीय किसानहरू हर्षित भएका हुन् । संकलन केन्द्र तथा हाटबजारमा गाउँपालिका भित्रका किसानहरूले आफ्ना कृषि उपजहरू संकलन, खरिद र विक्री गर्न थालेका छन् ।

गाउँघरमा पाइने तथा किसानले आफ्नो खेतबारीमा फलाइका विभिन्न खाद्य वस्तुहरू हरियो तरकारी, कर्कलो, गुन्द्रुक, सिस्नो, हस्तकलाका सामग्री दैलोमै विक्री गर्न पाउँदा मस्र्याङ्दी गाउँपालिकाका किसानहरू खुसी भएका छन् ।

किसानका लागि आफूले उत्पादन गरेका वस्तुको बजार अभाव नै प्रमुख समस्याका रूमिा रहेको छ । त्यसको सुनिश्चितताले गाउँपालिकाकै कायापलट गर्न सकिन्छ भन्ने उदाहरण दिन संकलन केन्द्र तथा हाटबजार सञ्चालन गरिएको सहकारीका अध्यक्ष वीरेन्द्र भण्डारीले बताउनु भयो । उहाँका अनुसार घरगाउँमै उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउँदा किसानहरू निकै उत्साहित भएका छन् । मस्र्याङ्दी गाउँपालिका– ९ का किसान मनबहादुर खत्रीले संकलन केन्द्र सहितको हाटबजारको व्यवस्थाले अब किसानलाई सहज भएको बताउनु भयो ।

कृषि तथा पशु हाटबजार तथा संकलन केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजार सुनिश्चित भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार विगतमा आफूले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार नपाउँदा उनलाई ‘खिन्न’ महसुस हुन्थ्यो ।

संकलन केन्द्रमा किसानले उत्पादन गरेका हरियो तरकारी, खुर्सानीका अतिरिक्त बनमा पाइने कुरिलो, निउरोका साथ घरमा पालिकाएका खसीबोका, लोकल कुखुरा, हस्तकलका सामग्रीहरू डोका, दाम्ला, नाम्ला, झोला, स्याखु, राडीपाखी, ऊनका कपडा, बख्खु लगायत संकलन, खरिद तथा विक्री गरिने सहकारीका अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

‘हाटबजारमा गुन्द्रुक, सिस्नो, कर्कलो, निउरो जस्ता चीजविज विक्रि हुन्छ र ? भन्ने लागेको थियो’, मस्र्याङ्दी– ७ उस्ताकी किसान जमुना गुरुङले भनिन्, ‘पहिले उत्पादन गरेको चीज बढी भए के गर्ने भन्ने चिन्ता हुन्थ्यो हाटबजार सञ्चालन भएदेखि सजिलै विक्री हुने भएको छ ।’ गाउँको उत्पादन ताजा र प्रायः अर्गानिक पनि हुने भएकाले ग्राहकहरू आकर्षित भएका छन् ।

संकलन केन्द्रमा कृषि उत्पादनको दैनिक संकलन गर्ने ब्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनु भयो । उहाँका अनुसार संकलन केन्द्रको भवन निर्माण तथा हाटबजार सञ्चालनका मस्र्याङ्दी गाउँपालिकाले १४ लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैबाट बिक्री कक्षमा फर्निसिङको पनि व्यवस्था भएको छ । सो सहकारीमा गाउँपालिका भित्रका सबै नागरिकहरूलाई शेयर सदस्य बनाएर अघि बढ्ने योजना बनाइएको उपाध्यक्ष विकले जानकारी दिनुभयो ।

मस्र्याङ्दी कृषि फार्मका सञ्चालक सुदिप अधिकारीले भन्नु भयो ‘कृषि तथा पशुजन्य उत्पादनले बजार नपाउँदा समस्या थियो । उत्पादित उपज कहाँ लगेर बेचौँ ? भन्ने चिन्ता थियो । हाटबजार सञ्चालनमा आउँदा खुसी छौँ ।’