नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक

0
Shares

काठमाडौं ।
नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक देखिएको छ । नेपाल उद्योग परिसंघसँग भएको सोमवारको छलफलमा बंगलादेशका राजदूत मसेफ बिनित शामसले नेपालबाट धागो आयात गर्न इच्छुक रहेको संकेत गरेका हुन् ।

शामसले नेपाल र बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध विकासमा दुवै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समयसमयमा भएको बताउँदै नेपालको निकासी बंगलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सहयोग गर्न तयार रहेको बताइन् ।

यस्तै दुबै देशबीच सुविधायुक्त व्यापार सम्झौता ९पीटीए० गर्न समेत दुवै मुलुक सकारात्मक रहेको भन्दै उनले भनिन्, ‘उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुनेछ ।’

नेपालबाट बंगलादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासका तर्फबाट पहल गर्ने उनले बताइन् । बंगलादेशका राजदूतलाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतीशकुमार मोरले नेपाल–बंगलादेश दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवम् अन्तरराष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए ।

दुई मुलुक छिमेकी राष्ट्र भए तापनि अपेक्षित व्यापार विस्तार हुन नसकेको उनको भनाइ थियो । साथै नेपाल र बंगलादेशमा हुने मेला तथा प्रदर्शनीले दुवै मुलुकबीचको व्यापार प्रवद्र्धनमा योगदान पुर्‍याएको बताए । बंगलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नुपर्ने मोरको तर्क थियो ।