जनताका माग पूरा नभए भेरीको पानी बबईमा बग्न नदिने

0
Shares

प्रकाश पन्त, बीरेन्द्रनगर ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुरुङमार्ग शिलान्यासका क्रममा तत्कालिन सरकारले गरेका प्रतिवद्धता पूरा नभए भेरीको पानी बबईमा खस्न नदिने चेतावनी दिएका छन् । महामन्त्री खड्काले भेरी नदी र स्रोत क्षेत्रमा खानेपानी, सिंचाई, विद्युतीकरण, सडकलगायतका जनताका आधारभूत आवश्यकता र पूर्वाधार निर्माण गर्ने विगतको सरकारको प्रतिवद्धता पूरा हुनुपर्ने बताए ।

‘बबईमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुअघि चिप्लेमा सुरुङ आउने बेलासम्म जनतामा उल्लेखित मागहरु पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो’ सोमबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा महामन्त्री खड्काले भने, ‘ति प्रतिवद्धता वर्तमान सरकारले पूरा नगरेसम्म भेरीको पानी बबईमा खस्न दिँदैनौं ।’ उनले अर्बौ लगानीमा सुरुङमार्ग निर्माण गरेर बर्दिया र बाँकेका सुख्खा जमिन हराभरा बनाइँरहँदा भेरी नदी र स्रोत क्षेत्रका जनताा आधारभूत आवश्यकताहरु पूरा गर्नुपर्ने बताए ।

‘डोल्पा, जाजरकोट हुँदै घाटगाउँ–तातापानीसम्मका जनताका मागहरु सम्बोधन गर्ने सन्दर्भमा वर्तमान कम्युनिष्ट सरकारको मंगलबार (आज) चिप्लेमा परीक्षा हुँदैछ’ उनले दोहो¥याए, ‘जनताका मागहरु पूरा नभएसम्म कुनैपनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा जाँदैन् ।’

उनले भेरीको पानीले बाँके र बर्दियाका ५२ हजार हेक्टर जमिन हराभरा हुँदा प्रभावित क्षेत्र र स्रोत क्षेत्रका जनताका जमिन बाँझै रहने अवस्थाको अन्त्य हुनुपर्ने बताए । ‘भेरीको पानी अर्बौ लगानीमा सुरुङमार्गमार्फत बबई खोलामा झारेर बर्दिया र बाँकेका सुख्खा जमिनलाई हराभरा बनाउने तयारी हुँदै गर्दा भेरी नदी वारी र पारी र स्रोत क्षेत्रका प्रभावित जनताका न्यूनत आवश्यकता पनि पूरा नहुने अवस्था देखियो’ कांग्रेस महामन्त्री खड्काले भने, ‘सिंचाई, बाटाघाटा, खानेपानी, सडक, विद्युत उत्पादनको ५० प्रतिशत राजस्व प्रभावित क्षेत्रका जनताले पाउने कुराको ग्यारेन्टी नहुँदासम्म कुनैपनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा खसाल्न दिँदैनौं ।’

महामन्त्री खड्काले प्रभावित क्षेत्रमा सिंचाई, विद्युतीकरण र सडक (घोरेटादेखि घाटगाउँसम्म) निर्माणका लागि विगतको सरकारका पालामा सुरु गरिएको भेरी करिडोर बहुउद्देश्यीय आयोजनालाई प्रयाप्त बजेटको व्यवस्था गरिनुपर्ने, प्रभावित क्षेत्र र भेरी नदीको पानीको स्रोतक्षेत्रका जनताको घरघरमा विद्युत पु¥याउनुका साथै हरेक घरधूरीलाई निःशुल्क शेयर उपलब्ध गराइनुपर्ने, विद्युतबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत रकम छुट्याउने ग्यारेन्टी हुनुपर्ने, डुवान प्रभावित क्षेत्रका जनतालाई प्रचलित मूल्यमा केही रकम थपेर मुआव्जाको व्यवस्था गरिनुपर्ने, छिन्चु–कोहलपुर सडक (रत्न राजमार्ग) लाई चारलेनमा विस्तार गरिनुपर्नेलगायतका जनताका मागहरु विगतको सरकारले पूरा गर्ने बचन दिएको भन्दै त्यसको कार्यान्वयन हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानी, पूर्व मन्त्री शिवराज जोशी, तप्तबहादुर विष्टलगायतले बोलेका थिए ।