१ सय २० योजना मध्ये ३१ योजना निर्माण सम्पन्न


किरन धामी, दार्चुला ।
दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकामा चालु आर्थिक वर्ष २०७५–०७६ मा गाउँपालिका भरी संचालनमा रहेका कुल १ सय २० विकास निर्माणका योजनाहरु मध्ये ३१ योजनाहरुको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द सिह डडालले जानकारी दिए ।

‘गाउँपालिकाका ५ वटै वडाहरुमा संचालित १ सय २० योजनाहरु मध्ये ३१ योजनाहरुको निर्माण कार्य सम्पन्न भएको छ, सम्पन्न हुन बाकी रहेका योजनाहरु पनि जेठको अन्तिम तिर सम्पन्न गर्ने गरी निर्माण कार्य भैइरहेको छ, उनले भने’ । गाउँपालिकाका ५ वडा मध्ये वडा नम्बर २ मा सबै भन्दा बढी योजनाहरुको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

वडा नम्बर २ मा २३ योजनाहरु संचालनमा रहेकोमा १० वटा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको उनको भनाई छ । यस्तै वडा नम्बर १ मा १६ योजनाहरु संचालनमा रहेकोमा ३ योजनाको निर्माण कार्य सम्पन्न भएको छ । वडा नम्बर ३ मा २४ योजना संचालनमा छन्, भने ५ वटा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको छ ।

यसैगरी वडा नम्बर ५ मा २९ योजनाहरु संचालनमा रहेकोमा ५, र वडा नम्बर ४ मा २८ योजनाहरु संचालनमा रहेकोमा ८ योजनाहरुको निर्माण कार्य सम्पन्न भएको प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष डडालले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर ५ मा सबै भन्दा बढी २९ योजनाहरु संचालनमा रहेका छन्, भने सबै भन्दा कम वडा नम्बर १ मा विभिन्न विकास निर्माणका १६ योजनाहरु संचालनमा रहेको उनले बताए ।

गाउँपालिकाका ५ वटै वडाहरुमा पि.सि.सि बाटो, सडक, खानेपानी, घोरेटो बाटो, घेरपर्खाल मर्मत तथा निर्माण, सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण, मन्दिर निर्माण, दलित, महिला तथा बालवबालिका लक्षित योजनाहरु संचालनमा रहेका छन् ।

५ वटै वडाहरुमा विभिन्न विकास निर्माणका योजनाहरुका लागी गाउँपालिकाले ३ करोड ५३ लाख ४८ हजार रुपैया विनियोजन गरेको उनले जानकारी दिए ।