‘जिल्ला भरीनै पाठ्यपुस्तक पुग्यो’


किरन धामी, दार्चुला ।
सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा पाठ्यपुस्तक समयमै पुगेको छ । विगतका वर्षहरुमा पाठ्यपुस्तक समयमै नपुग्ने गरेकोमा यस वर्ष भने समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगीसकेको शिक्षा विकास तथा समन्वय ईकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।

देश संघिय संरचनामा गए पछि धेरै जसो अधिकारहरु स्थानिय तहलाई प्राप्त भएका कारण यस वर्ष समयमै पाठ्यपुस्तक जिल्लाभरीका सबै विद्यालयहरुमा पुगेको उनी बताउछन् । ‘स्थानिय तहले पाठ्यपुस्तक खरीदका लागी समयमै बजेट विनियोजन गर्दा पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुग्यो उनले भने’ ।

कक्षा १ देखी १० कक्षा सम्मका सबै विषयका पाठ्यपुस्तकहरु सबै विद्यालयलाई उपलब्ध गराई सकेको पाठ्यपुस्तक खरीदको जिम्मा पाएका भावना स्टेशनरी खलंगाका संचालनक राजेन्द्र प्रसाद बडूले बताए । अग्रेजी माध्यमका पाठ्यपुस्तकहरु मात्रै नपुगेको उनले बताए ।
विद्यार्थी भर्ना अभियान संगै आउदो वैशाख ५ गते विभिन्न विद्यालयहरुमा कार्यक्रमको आयोजना गरी पुस्तक दिवस मनाउने कार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय दार्चुलाका प्रमुख पन्तले बताए । विद्यार्थी भर्ना संगै पुस्तक दिवस भव्यताका साथ मनाउने गरी तयारी भएको उनले जानकारी दिए ।

जिल्लाभरीमा २ सय १९ वटा प्राथमिक विद्यालय, ५९ वटा निम्न माध्यमिक विद्यालय, ४२ वटा माध्यमिक विद्यालय, २५ वटा उच्च माध्यमिक विद्यालय र १७ वटा संस्थागत विद्यालय गरी जम्मा ३ सय ६२ वटा विद्यालयहरु छन् ।
यसैविच शिक्षा मन्त्रालयले वैशाख २ लाई ‘राष्ट्रिय भर्ना अभियान दिवस’ घोषणा गरे अनुरुप जिल्लाको ९ वटै स्थानिय तहले विद्यार्थी भर्ना अभियानलाई तिव्रता दिएका छन् । ‘राष्ट्रिय भर्ना अभियान दिवस’ को नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ तय गरिएको छ ।

गत वर्ष दार्चुलामा ९७ प्रतिशत विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय भर्ना भएकोमा ३ प्रतिशत बालबालिका बाहिर रहेको तथ्याङ्क शिक्षा विकास तथा समन्वय ईकाई दार्चुला संग छ ।