विमल विष्ट, डोटी ।
डोटीको सिलगढीमा जिल्लामा तैनाथ रहेको नेपाली सेनाको रुद्रध्वज गणले नयाँवर्ष सुरु भएसँगै जिल्लामा ‘एक बिरुवा एक सिपाही’ अभियान सञ्चालन गरेको छ । नयाँ वर्षको पहिले दिन जिल्ला सदरमुकाम सिलगढीमा रहेको पैयाभन्ज्याङ डाँडाबाट उक्त गणले आफनो गणका भएका सैनिक,जिल्ला स्थित प्रमुख व्यक्ति तथा स्थानियबासीहरुलाई सहभागी गराएर ‘एक बिरुवा एक सिपाही’ अभियान अन्तरगत बृक्षारोपण गरेको छ । पर्यावरण संरक्षण र सम्बर्धन गर्न नेपाली सेनाले लागू गरेको ‘गो ग्रीन कार्यक्रम’ उक्त बृक्षारोपण कार्यक्रम गरीएको रुद्रध्वज गणका गणपती तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाको ‘गो ग्रीन कार्यक्रम’ अन्तरगत हामीलेपनि जिल्लामा बिरुवा जोगाउनुपर्छ भन्ने मान्यताका साथ बिरुवा रोप्ने अभियान सुरु गरेका हौँ ।”
उक्त अभियान अन्तरगत जिल्लाको ईन्द्रचोक,बारुदखाना र पैयाभञ्ज्याङ क्षेत्र भित्रका विभिन्न ठाउमा सल्ला, धुपिसल्ला, लहरे पिपल, चिउरी, कपुर, बास गरी कम्तिमा पनि ३०० बोट बिरुवा बृक्षारोपण गरिएको रुद्रध्वज गण सह–सेनानी नरेन्द्र बिसीले जानकारी दिनुभयो । नयाँ वर्षको शुभारम्भ संगै जिल्लामा पहिलो पटक नयाँ कार्यको थालनी गरिएको बृक्षारोपण कार्यक्रममा सहभागी हुनुभएका डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ वर्ष संगै नयाँ कार्यको थालनी भएको छ यसलाई निरन्तरता दिए जिल्लानै हरियाली हुनेछ ।” डोटीमा रहेको नेपाली सेना हरीयाली युक्त नगर निमार्णमा बिषेश योजना सहित अगाडी बढीरहेकोले यो निकै सरहानीय र स्वागत योग्यकाम भएको उक्त कार्यक्रममा सहभागी हुनु भएका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा रुख बचाउन सेनाले अभियान सुरु गरेकोछ,यसमा हामी सबैको सहयोग र हातेमालो हुनु जरुरी छ ।”
मौसम परिवर्तनले वातावरणमा पार्ने प्रभावलाई सन्तुलन कायम राख्न बृक्षारोपण गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्त तथा प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “ वतावरण सन्तुलन राख्नलाई भएपनि हामीले सेनाले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिनुपर्छ, यसले भाबी दिनमा राम्रै प्रभाव दिने छ ।” पछील्लो समयमा नेपाली सेनाले जिल्लाका बिभिन्न सार्वजनिक स्थल, मठ ,मन्दिर, पाटी पौवाको निर्माण,सरसफाई जस्ता अभियान सञ्चालन गर्दै आएको छ । सेनाले जिल्लामा गर्दै आएको कामलाई यहाँका स्थानियले स्वागत समेत गर्नथालेका छन् ।











प्रतिक्रिया