नेपालकै अग्लो पुलमा नयाँ वर्षको रौनक

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वत र बागलुङ जोड्ने गरी कालीगण्डकी नदी माथि निर्माण भएको नेपालकै अग्लो पुलमा नयाँ बर्षको रौनक छाएको छ । २ फागुन २०७१ मा पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका कैया जोड्ने गरी निर्माण भएको कुश्मा कैया झोलुङ्गे पुलमा नयाँ बर्ष मनाउन आउने आन्तरिक पर्यटकहरुको भीड लागेको हो ।

एक सय ६६ मिटर अग्लो पुलमा नयाँ बर्ष मनाउन र अवलोकन गर्नकै लागि मुलुकका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पर्वतमा भित्रिएका छन् । पुल अवलोकनकै लागि समुहगत रुपमा आएका लमजुङका सुविन भट्टराइले नयाँ बर्षको अवसरमा घुमफिरका क्रममा पर्वतमा आएको बताउँदै झोलुङ्गे पुल हेर्न लायक भएको बताउनुभयो ।

कालीगण्डकी नदीको खोचमा निर्माण भएको उक्त पुल एक सय ६६ मिटर अग्लो छ भने तीन सय ४७ मिटर लामो समेत छ । दुई जिल्लाको सम्बन्धलाई जोड्ने गरी पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँबाट बागलुङ नगरपालिका कैयामा उक्त पुल निर्माण भएको हो ।

दिउँसोको समयमा पुलमा मात्रै ५ सय भन्दा बढी यात्रुहरु रहेको पुल निर्माण समितिका सदस्य राम शर्माले जानकारी दिनुभयो । गत बर्षको जति सहभागिता नभएपनि प्रतिकुल मौसमका बाबजुद पनि पुल अबलोकन गर्न आउनेको संख्या सन्तोषजनक रहेको उहाँको भनाइ थियो ।

यो पुल सम्म आउनका लागि पर्यटकीय शहर पोखराबाट ६० किलोमिटरको दुरीमा दुई घण्टामा पर्वत सदरमुकाम कुश्माबजारमा पुग्न सकिन्छ । कुश्मा बजारमा पुगेपछि उक्त पुलमा कुश्माबजारबाट २ किलोमिटर दुरीमा पुग्न सकिन्छ । पुलसम्म पुग्नका लागि कुश्मा नगरपालिकाले विभिन्न निकायको सहयोगमा पुल सम्मनै सडक कालोपत्रे समेत गरेको छ ।