त्रिजिल्लाको संगममा पहिलो मोटरबोट

0
Shares

हेटौंडा ।
मकवानपुरको बागमती नदीमा व्यावसायिकरुपमा मोटरबोट (ठूलो डुंगा) सञ्चालन थालिएको छ । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि बागमती नदीमा मोटरबोट सञ्चालन भएको हो ।
मकवानपुर, सर्लाही र रौतहट जोड्ने बागमती खोलालाई जलमार्गका रुपमा विकास गरी व्यावसायिकरुपमा मोटरबोट सञ्चालन हुने भएको छ । रौतहटको नुनथरस्थित बागमती क्यान्टिनमा आइतबार मोटरबोट परीक्षण गरिएको छ । परीक्षण सफल भएको मोटरबोट केही दिनमा नियमति गर्ने तयारी गरिएको छ ।

रौतहटको बागमती क्यान्टिनदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गरिने छ । उक्त कार्यका लागि विशेष पहल गर्नुभएका प्रतिनिधिसभा अर्थसमिति सभापति तथा उक्त क्षेत्रका सांसद् कृष्णप्रसाद दाहालले मोटरबोट उद्घाटन गर्नुभएको हो ।
नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई केन्द्र सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रवद्र्धन तथा स्थानीय जनताको दैनिकीलाई सहज बनाउन मोटरबोट सञ्चालनमा ल्याइएको भन्दै सभापति दाहालले जलमार्गले दुर्गम मानिने राईगाउँको जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्ने बताउनुभयो ।
सांसद् विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत् खर्च गरिने योजनामध्येबाट २० लाख खर्च गरेर जलमार्ग निर्माण गरिएको हो ।

कार्यक्रममा नेकपाका नेता केदार न्यौपाने, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष सरला बोलखेलगायतको आतिथ्यता थियो । मोटरबोट सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरको पर्यटन विकाससँगै उक्त क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

नयाँ वर्षको दिन ११ सिटे मोटरबोट सञ्चालन थालिएको बागमती गाउँपालिका अध्यक्ष घलानले बताउनुभयो । उहाँका अनुसार चितवनको नारायणी नदीमा सञ्चालित ११ सिटे मोटरबोटलाई बागमतीमा सञ्चालन थालिएको छ । पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालनको योजना छ ।