नयाँ वर्षको पहिलो दिन देशभरका नदीनाला सफा राख्ने सङ्कल्प


काठमाडौँ,  बाग्मती सफाइ महाअभियानकर्मीले विसं २०७६ को पहिलो दिन बिहान सफाइबाटै शुरुआत गरेका छन् । सफाइका क्रममा यो वर्ष देशभरका सबै नदी, नाला एवं खोला सफा गर्ने सङ्कल्प गरिएको सुन्दरीघाट सफाइ अभियानका संयोजक चित्र सुनुवारले राससलाई जानकारी दिनुभयो ।

सफाइकर्मीले नयाँ वर्षको पहिलो दिन नमूना कार्यक्रम गर्ने सोच बनाइरहेका बेला गोदावरी खोला सफाइ अभियानको छैटौँ हप्ता परेकाले त्यहीँ सफा गरिएको हो । खोलाको ठैँबबाट गौदामचौरसम्मको क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक बेबी थापाले सुनाउनुभयो । गोदावरी सफाइ अभियान फागुन २६ गते आइतबारदेखि शुरु भएको हो । यहाँ प्रत्येक हप्ता आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म सफाइ हुँदै आएको छ ।

यहाँको सफाइमा महिला र विद्यालयमा अध्ययनरत बालबालिकाको उल्लेख्य सहभागिता रहने गरेको छ । सफाइमा गोदावरी नगरपालिकालगायत स्थानीयवासीले पनि सहयोग गर्दै आइरहेका छन् ।

विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान शुरु भएदेखि देशभर सफाइ जागरण फैलिएको छ । हालसम्म देशभरका १०३ स्थानमा साप्ताहिकरुपमा सफाइ अभियान सञ्चालन हुन्छ । विसं २०७५ लाई सरकारले सरसफाइ वर्ष घोषणा गरेको थियो ।

सरकारले सफाइ वर्ष घोषणा गरे पनि ठोस कार्यक्रम ल्याउन नसकेको सफाइ अभियानकर्मीको टिप्पणी छ । बाग्मतीलाई ढलमुक्त गर्न स्थापना भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासीका नाममा नदी किनार ओगटेर बसेकालाई हटाउन नसक्दा पनि बाग्मती आशातीतरुपमा सफा हुनसकेको छैन ।
रासस