काभ्रेमा ‘स्मार्ट’ समिति


नेपाल समाचारपत्र
काभ्रे
काभ्रे भ्यालीलाई स्मार्ट बनाउने उदेश्यले ‘काभ्रे उपत्यकाको समृद्धीको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार र पुर्वाधार’ भन्ने भिजन राख्ने निर्णय भएको छ ।

उक्त भिजन कार्यान्वयन गर्न तथा परियोजना संचालनका लागि सरलता र सहजीकरणका लागि समन्वय (निर्देशक) समिति गठन गन गर्ने निर्णय भएको छ ।

निर्देशक समितिको संयोजकमा धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुको संयोजकत्वमा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, धुलिखेल नगरपालिका उपप्रमुख विमलाकुमारी शर्मा चौलागाई, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, बनेपाका प्रमु्ख प्रशासकिय अधिकृत भोजराज घिमीरे, पनौती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सदस्य रहेका छन् ।

स्मार्ट काभ्रे भ्यालीका लागि पनौतीको त्रिवेणीघाट देखि धुलिखेल श्रीखण्डपुर हुँदै बनेपाको शेरा र पाण्डे गाउँसम्मको करिव १६ किलोमिटर करिडोर बाटोलाई पक्किकरण गर्ने निर्णय गरेको छ । साथै ट्रिटमेन्ट प्लान्ट सहितको फोहोरमैला ब्यवस्थापनका लागि तीन वटै नगरपालिकाको संयुक्त सहमतिमा उपयुक्त स्थानमा निर्माण गर्ने र नगरकोट टनचोक धुलिखेल नमोबुद्ध बल्थली नागिडाँडा गुर्दुम खानीडाँडा लाकुरी भन्ज्याङ्गलाई पर्यटकिय पूर्वाधार सहितको पदमार्ग निर्माण गर्ने निर्णय गरेको छ ।

काभ्रे भ्याली मार्फत गठन हुने दुई ठुला परियोजनाको छनौट र कार्यान्वयनसँगै काभ्रे भ्यालीमा रहेका तीन नगरपालिका र एउटा गाउँपालिकाको समृद्धीको यात्रा शुरु हुनेछ ।

यस अघि शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोग तथा सहजिकरणमा धुलिखेल नगरपालिकामा आयोजित परिचयात्मक कार्यशाला गोष्ठीबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु निर्देशक समितिको संयोजक चयन भएका छन् ।

निर्देशक समितिमा तीनवटा नगरपालिका र एउटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, प्रत्येक स्थानीय तहका दुई/दुई जना वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघका प्रतिनिधि, गैसस प्रतिनिधि, होटल ब्यवसायी लगायतका क्षेत्रबाट प्रतिनिधित्व हुने छ । समितिले काभ्रे भ्यालीको शहरी पुर्वाधार विकास योजना परियोजना संचालनमा आवश्यक तथ्यांक प्राप्तीमा समन्वय, सहजिकरण तथा निर्माणधिन र निर्माण गर्नु पर्ने पूर्वाधारहरुको सुचना उपलव्ध गराउने छ ।

कार्यक्रमको नतिजा तथा उपलव्धीहरुको अनुमोदन र अन्य आवश्यक समन्वय तथा सहजिकरण गर्ने शहरी योजनाविद् तथा सिभिल इन्जिनियर सुमन पाठकले बताए । परियोजनाका बारेमा जानकारी गराउँदै पाठकले पहिलो चरणमा परियोजनाको परिचयात्मक कार्यक्रम, काभ्रे भ्यालीको सिमाना निर्धारण, निर्देशक समिति गठन, काभ्रे भ्यालीको पूर्वाधार विकाससँग सम्वन्धित सबल पक्ष, कमजोर पक्ष, अवसर तथा चुनौतिको पहिचान, विषयगत शहरी पूर्वाधार आवश्यकता पहिचान गरिएको बताए ।

परियोजनाले काभ्रे भ्यालीको दुरदृष्टी, लक्ष्य र उदेश्य सहितको रणनितीक शहरी पूर्वाधार विकास योजना तयार गर्नेछ । रणनितीक पूर्वाधार विकास योजनाले निर्देशित गरेका दुई परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ भने स्रोत तथा विषयगत नक्सा तयार गर्नेछ । त्यस्तै भु– उपयोग बर्गिकरण गर्नेछ ।