देवघाटमा भक्तजनको घुइँचो    


चितवन,
नयाँ वर्षका अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नानसँगै पूजाआजा गर्नेको घुइँचो लागेको छ । बिहान सबेरैदेखि विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ५ नबज्दैदेखि भक्तजनको घुइँचो लागेको बताउनुभयो । पौडेलका अनुसार शनिबार राजधानीसहित विभिन्न जिल्लाका भक्तजन देवघाटमा बास बस्ने गरिआएका थिए । दश वर्षअघि सम्म नयाँ वर्षमा सुनसानजस्तो देखिने देवघाट पछिल्ला वर्षमा मेला लागेको जस्तो गरी भक्तजन आउने गरेको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार एक लाखभन्दा बढी भक्तजन भित्रिने अनुमान गरिएको छ । दिउँसो २/३ बजेसम्म भक्तजन आउने उहाँले बताउनुभयो । देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने, शुभकार्य गर्ने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । कतिपय नयाँ वर्षमा रमाइलाका लागि पनि देवघाट आएको उहाँले बताउनुभयो ।
आफ्नो वर्षभर नै शुभ कल्याण होस् भनेर देवघाट आउने बढेको घिमिरेले बताउनुभयो । बिहान सबेरैदेखि आँपटारीदेखि देवघाटसम्म सवारी साधन र पैदल यात्रीको चाप बढेको उहाँले बताउनुभयो ।
रासस