नयाँ वर्षमा महिलाहरुलाई सेनेटरी प्याड


मोतीराम तिमल्सिना, काभ्रे ।

वर्षको अन्त्य तथा नयाँ वर्षको प्रारम्भमा ग्रामिण भेगका महिलाहरुले महिनावरी हुँदा सुरक्षित रुपमा सेनेटरी प्याडको प्रयोग गरी स्वास्थ्यमा ध्यान पु¥याउने उदेश्यले पनौती नगरपालिका २ बोलखेगाउँमा सेनेटरी प्याड वितरण गरिएको छ ।

‘महिनावरी हुँदा महिलाहरुले प्रयोग गर्ने विभिन्न सामाग्रीले सक्रमण हुन गई महिलाहरुको स्वास्थ्यमा असर परिरहेको छ’–गरिवी न्यूनिकरणका लागि सामुदायिक विकास नेपालकी अध्यक्ष गिता दाहालले भन्नु भयो–‘सेनेटरी प्याडको प्रयोगले महिनावरीका समयमा महिलाहरुलाई स्वस्थ राख्न सहयोग पु¥याउने छ ।’ प्रति महिला तीनवटा प्याड वितरण गरिएको थियो ।

एक पटक प्रयोग गरेपछि पुनः अर्काे पटक प्रयोग गर्न नमिल्ने उक्त प्याड नियमित प्रयोग गर्ने बानी बसाल्नका लागि वितरण गरिएको उहाँले बताउनु भयो । ‘तपाईहरुले आवश्यकता महसुस गर्नु भयो भने पुनः प्रयोग गर्न सकिने प्याड बनाउन सिकाउने छौं’–अध्यक्ष दाहालले भन्नुभयो–‘सिप सिकाएर आफै प्याड बनाउने र प्रयोग गर्न सक्ने बनाउन सहयोग गर्नेछौं ।’ ग्रामिण भेगका महिलाहरुमा प्याडको प्रयोग कमी भएकाले सचेतनाका लागि उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।

पनौती जुनियर जेसिजका अध्यक्ष आकृति दाहालले पनौती नगरपालिका २ कुशादेवीलाई बालमैत्री नगरपालिकाको वडा बनाउन बालक्लवहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । उक्त वडामा ११ वटा बाल क्लव छन् । प्रदेश नम्वर ३ को पहिलो वडा १२ नम्वर भूमेडाँडा हो ।

बालबालिकाहरुलाई शैक्षिक सामाग्रीको प्रयोग तथा अध्ययनमा रुची बढाउने र बालमैत्री वडाका रुपमा विकास गर्न अभिभावक र बालबाकिलाहरुलाई चेतना जगाउन शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष आकृति दाहालले बताउनु भयो । बर पिपल बाल क्लवका अध्यक्ष प्रकृति बोलखेलाई शैक्षिक सामाग्री वितरण गर्दै अध्यक्ष दाहालले बाल क्लव मार्फत सबै बालबालिकाहरुको अधिकार संरक्षण र प्रर्वद्धनमा जोड दिनु पर्ने बताउनु भयो । शैक्षिक सामाग्रीसँगै बाल क्लवलाई आवश्यक पर्ने खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

बोलखे गाउँमा रहेको किमागोल ब्वाईज क्लवलाई पनौती जेसीज २०१७ का अध्यक्ष विजय अधिकारीले जन्मोत्सवको खर्च कटौती गरेर १२ जोर पोशाक र भलिबल हस्तान्तरण गर्नुभएको थियो । खेलको माध्यमबाट युवाहरुलाई शशक्त र स्वस्थ बनाउन सहज हुने उदेश्यले पोशाक र बल दिएर हौसला बढाएको अध्यक्ष विजय अधिकारीले बताउनु भयो । सोहि अवसरमा गरिवी न्यूनिकरणका लागि सामुदायिक विकास नेपालले तयार गरेको बार्षिक क्यालेण्डर २०७६ को विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले बालबालिका र महिलाहरुको स्वास्थ्य तथा सचेतनाका लागि गरिएको कार्यक्रम महत्वपूर्ण भएको बताउनु भएको थियो ।

कार्यक्रममा जेसीज वर्ष २०१६ का अध्यक्ष रुपक महत, पनौती जात्रा ब्यवस्थापन समितिका सचिव निवास श्रेष्ठ, नेपाल पत्रकार महासघं काभ्रे शाखाका सह सचिव मधुसुदन तिमल्सिना, ज्ञान विकास पुस्तकालयका उपाध्यक्ष रविचन्द्र कर्माचार्य, पनौती जेसीजका महासचिव अनिल बोलखे, जुनियर जेसीजको पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

सहभागिहरुले महिला र बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता विषयमा जुनियर जेसिज र गरिवी न्यूनिकरणका लागि सामुदायिक विकास नेपालले शुरु गरेको अभियानको स्वागत गरेका थिए । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।