मालपोत र नापी कार्यालयमा विचौलियालाई निषेध

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अव को एक बर्ष भित्र मालपोत तथा नापी कार्यालयमा विचौलियालाई निषेध गर्ने दावी गर्नुभएको छ ।

नापी कार्यालय भक्तपुरले सुरु गरेको जेष्ठ नागरिक सहायता कक्षको उद्घाटन गर्दै मन्त्री अर्यालले जनताको प्रत्यक्ष काम गर्ने कार्यालयले जनताको सम्पतिको सुरक्षा गर्न बिचौलियको निषेध गनुपर्ने बताउनुभयो ।
देशभरका मालपोत तथा नापी कार्यालयमा एक बर्ष भित्र नागरिक सहायता कक्ष स्थापना गरि सेवा प्रवाहलाई चुस्त बनाईने र डेढ बर्षभित्र प्रविधि मैत्री कार्यलय बनाएर स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो।

मालपोत र नापी कार्यालयमाब् यापक भ्रष्टाचार हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रविधि मैत्री कार्यालय बनाउन सके सुशासन कायम र राजस्व बृद्धिमा सहयोग पुग्ने उहाँको भनाई छ ।

यि कार्यालयमा हुने गरेका भ्रष्टाचारले मन्त्रालयको नै बदनाम भएको उहाँको भनाई थियो ।अब देशभरका १ सय ३१ वटा मालपोत र १ सय ३१ वटै नापी कार्यालयलाई नमुना कार्यालय बनाउन लागि परेको बताउँदै कलंकीस्थित कार्यालयबाट यसको थालनी गरेको उहाँको भनाई छ ।‘के भनौं र खै ,तिमी हाँस है, मै बसौँला रोई’, मन्त्री अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति गुनासो र व्यङ्ग्य गर्नुभयो ।

मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने जस्तै अवस्था आएको बताउँदै मन्त्री अर्यालले भन्नुभयो ‘जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शिर निहुरिएको छ, मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जनताको जीवन जिउन साह्रै निकृष्ट हुनुपर्दैन’, राम्रो काम गर्नुस् । हामी सबै तपाईंहरुको साथमा छौ।

मन्त्री अर्यालले नहुने काम कसैले टेबुल ठोक्दैमा कानुन मिचेर गर्न जरुरी नभएको भन्दै कतिपय काम गर्दा व्यवहारिक कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको उल्लेख गर्दै उहाँले केही रुपमा भएका कमजोरी माथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताउनुभयो ।

‘हामी सुशासन कायम गर्न लागिपरेका छौ,हामी मातहतका कार्यालयमाथी प्रश्न उठेका छन् अर्यालले भन्नुभयो, ‘हामी क्लिन छौ । भ्रष्टाचारको विषयमा हामीमाथि कुनै प्रश्न उठाउने ठाउँ छैन । तर तलबाट केही बदमासी भएका कारण हामीलाई गिज्याउने काम भइरहेको छ ।’

मन्त्री अर्यालले मालपोत, नापीमा भइरहेका बदमासी मन्त्रालयले प्रक्रियाबाटै अन्त्य गर्न लागिपरेको बताउँदै कर्मचारीलाई गाली गरेर मात्र होइन, पूर्णरुपमा सिस्टमबाट नै डिजिटल प्रविधिमा सबै सेवालाई ढाल्न लागिपरेको उल्लेख गर्नुभयो ।यसबाट राजश्वमा हुने चुहावट बन्द हुने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त हुने उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्लिन रहेको र यो सरकारमाथि कुनै प्रश्न उठाउने ठाउँ नरहने बताउनुभयो ।

‘अब कर्मचारीलाई गाली गरेर मात्र होइन सिस्टमबाट नै यो कुरालाई च्यालेञ्ज गर्नुपर्छ भनेर हामी डिजिटल प्रविधिमा हाम्रा सेवालाई ढाल्न लागिपरेका छौ ।’मन्त्री अर्यालले डिजिटल सेवाबाट राजस्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त गर्ने बताउनुभयो ।

मन्त्री अर्यालले नमुना कार्यालय बनाउने मन्त्रालयको अभियान पैसाको कारणले काम नरोकिने बताउनुभयो । बिचौलियामुक्त कार्यालय बनाउन लागेको भन्दै उहाँले सेवाग्राही बाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निशेध गरेर सेवाग्राहीमुखी सेवा दिनुपर्ने बताउनुभयो ।

कर्मचारी लक्षित गर्दै मन्त्री अर्यालले मान्छे मरेर जाँदा शरीर मात्रै लिएर जाने भएको हुनाले जनतालाई सेवा दिनका निम्ति इमानदारीता देखाउन आग्रह गर्नुभयो । उहाँले राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत गर्ने कर्मचारीलाई दण्डित समेत गरिने बताउनुभयो ।

सो क्रममा उहाँले भक्तपुरका नापी र मालपोत कार्यालयको गतिविधिको प्रत्यक्ष अवलोकन गरी सेवा प्रवाहबारे जानकारी लिनुभयो ।नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार विष्टले अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको, टोकन प्रणालीमार्फत सेवा दिइएको जानकारी दिनुभयो ।

मालपोत कार्यालय भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख्र जिल्ला अधिकारी नारायण प्रसाद भट्ट लगायतले सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेमा जोड दिनुभयो ।