बृद्धभत्ताबाट गोरेटो बाटो !

14
Shares

धनवीर दाहाल, रुकुम ।
यतिबेला स्थानीय, प्रदेश र संघिय गरी तिन तहको सरकार छ । तिन तहका सरकारका साथै विकास निर्माणका लागी काम गर्ने भन्दै बिभिन्न गैरसरकारी संस्थाहरु पनि समाजमा छन् । तर ति सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई चुनौती दिँदै रुकुम पश्चिमका एक बृद्धले आफुले राज्यबाट पाइरहेको बृद्ध भत्ताले गोरेटो बाटो निर्माण गर्नुभएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ माछ्मीका ८४ बर्षिय नदीराम खत्रीले आफुले पाएको बृद्ध भत्ताबाट ५ किलोमिटर गोरेटो बाटो निर्माण गर्नुभएको हो ।

गाँउमा गोरेटो बाटोको आबश्यक पर्दा पनि कसैले वास्था नगरेपछि आफै बाटो निर्माण गरेको खत्रीले बताउनुभयो । गत महिना मात्र ८४ पुजा गरिसक्नुभएका खत्रीले भन्नुभयो “समाजको लागी बाटो चाहिएको थियो । मैले पाएको रकमबाट मान्छे लगाएर बाटो तयार गरेको हुँ ।” उहाँले आफुसँग धेरै पैंसा भएर नभई राज्यबाट आएको पैंसा समाजकै लागी खर्च गर्ने सोचले बाटो बनाएको बताउनुभयो । माछ्मी र पिपलनेटा दुई ठाँउमा गरी करिव ५ किलोमिटर गोरेटो बाटो खत्रीले निर्माण गर्नुभएको छ ।

उहाँले बाटो निर्माण गरेपछि स्थानीयलाई आवात जावत गर्न सहज भएको छ । दुई ठाँउको गरी करिव ३० हजार लगानीमा बाटो बनाउनुभएको हो । बिभिन्न सरोकारवाला निकायहरु सोही क्षेत्र हुँदै हरेक दिन हिडिरहे पनि निर्माण गर्न तर्फ कसैको चासो नगएको उहाँको भनाई छ । “मसँग पैंसा धेरै भएर त होइन तर गाँउमा बाटो नभएको कारण स्थानीयहरुलाई समस्या हुँदा सम्म कसैको चासो नभएपछि मैले पाएको पैंसाले ज्यामी लगाएर बाटो बनाएको हुँ ।” खत्रीले बाटो तयार गरेपछि स्थानीयहरुलाई सहज भएको छ ।