९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले गत साउन महीनादेखि चैत मसान्तसम्म यी सबै मुद्दा दायर गरेको हो ।

यस अवधिमा भ्रष्टाचार विरुद्ध ९० स्टिङ अपरेशनमा एक सय २७ उपर कारबाही गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षभरीमा १९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्षका तुलनामा यस वर्ष आयोग भ्रष्टाचारविरुद्धका मुद्दामा वृद्धि भएको जनाईएको छ । गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरी आयोगमा रहेका थिए भने यस चालु आर्थिक वर्षको ९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर गरिएको छ । आयोगले भ्रष्टाचार विरुद्ध पूर्वक्रियाशीलता अभिवृद्धि गर्न सुक्ष्म निगरानी तथा कारबाही टोलीसमेत गठन गरि भष्टचार गर्नेलाई कारबाही तीव्र पारिएको छ ।
आयोगका अनुसार सार्वजनिक विकास निर्माणमा कारबाही प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ भने प्रदेशका २÷२ जिल्लामा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन गरिएको छ ।

आयोगमा स्थानीय तहका मुद्दाहरू सबैभन्दा बढि परिरहेको सन्दर्भमा आयोगका मातहत कार्यालयहरूको भौतिक पूर्वाधार विकास र मानव संशाधन विकासमा ध्यान दिंदै कार्यालयहरूको सुदृढीकरण गरी सक्रियतासमेत बढाईएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँले ठूला आयोजनाहरूमा भएका भ्रष्टाचारजन्य कार्य तथा सार्वजनिक पदाधिकारी उपरको अनुसन्धान तिब्र बनाई अभियोजनको दायरामा ल्याइएकोसमेत जानकारी दिनुभयो ।
यस्तै भ्रष्टाचार कार्यलाई राष्ट्रिय र साझा एजेन्डाका रुपमा स्थापित गरी भ्रष्टाचार कार्यउपर सबै सरोकारवालाबाट शून्य सहनशीलताका लागि समन्वयात्मक सहकार्य अभिवृद्धि गरिएको र आयोगले विभिन्न कार्यालयहरूमा आफ्ना कर्मचारीहरू सेवाग्राहीका रुपमा गई सेवाप्रवाहको अनुगमन गर्ने कार्य प्रारम्भ गरिसकेको कोइरालाले जानकारी दिनुभयो ।