गाउँपालिकाका सबै विद्यालयमा एकै पोशाक

0
Shares

हेटौंडा ।

मनहरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीले एकैखाले पोशाक लगाउनुपर्ने भएको छ ।
गाउँ शिक्षा समिति मनहरीले फरक विद्यालयमा अध्ययनरत् विद्यार्थीको विद्यालय पोशाकमा फरकपन देखिएको भन्दै एकरुपता ल्याउन खोजेको हो । समितिको शुक्रबार बसेको बैठकले यससम्बन्धि निर्णय गरेको छ । जसअनुसार आकाशे रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र टाई तथा जुत्ता रहने निर्णय भएको छ ।

वर्षामा कतिपय विद्यालयमा टाई र जुत्ता अनिवार्य नहुने समितिले निर्णय गरेको छ । ‘सबै विद्यालयका बालबालिकाको पोशाकमा एकरुपता ल्याउन यस्तो कदम चालेका हौं,’ गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले भन्नुभयो–हाम्रो पोशाक देखेर मनहरी गाउँपालिकाका विद्यालयका विद्यार्थी रहेछन् भनेर सबैले चिनुन् भन्ने उद्धेश्य हो ।

गाउँ शिक्षा समितिले शैक्षिक वर्ष २०७६ का लागि शैक्षिक क्यालेण्डर निर्माण गरेको छ । जसअनुसार यसअघि दशैं, तिहार र छठ पर्वलाई जोडेर दिइँदै आएको लामो बिदा कटौती भएको छ । दशैं र तिहारबीच १३ दिन विद्यालय सञ्चालन हुने गरी क्यालेण्डर निर्माण भएको गाउँ शिक्षा प्रमुख राजेन्द्र चौलागार्इंले बताउनुभयो ।

शिक्षा समिति अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले शिक्षा विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बैठकमा शिक्षा समितिका सदस्य, सामाजिक विकास समिति संयोजक साधुराम अधिकारी तथा विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो ।