हलेसीमा रामनवमी मेला भर्नेको घुँइचो

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको त्री–धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा १५ दिने रामनवमी मेला भर्नेको घुईंचो लागेको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसीमा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको घुईंचो लागेको हो ।

मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरिया लगायतका हजारौं दर्शनार्थीको उपस्थिति रहेको छ ।

गत वर्षहरुको तुलनामा यस वर्ष हलेसीमा दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा पक्की पुल निर्माण भएपछि हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर वृद्धि भएको निर्देशक भुजेलले बताउनुभयो ।

धार्मिक तथा साँस्कृतिक रुपले प्रसिद्ध मानिने त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हप्ता दिन अघिदेखि शुरु भएको मेलाका कारण अहिले हलेसी आसपासका होटल तथा पसलहरु खचाखच भरिएको छ । हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।