पुरानो रौनकता नभएको नयाँ वर्ष !

0
Shares

हेटौंडा ।
हेटांैडा–११ की सानु बिक भन्नुहुन्छ–हामीले जानेर होस् अथवा लहैलहैमा जसरी भए पनि नयाँ वर्षलाई नयाँ तरिकाबाट मनाउने प्रयास गरिरहेका हुन्छांै । तर, पहिलेजस्तो खासै रौनक छैन नयाँ सालमा ।

‘पहिला जसरी हामीले मनाउने गरेका थियौं, अहिलेको प्रविधिका कारण पनि नयाँ वर्ष साँच्चै नयाँ वर्ष जस्तो भए लाग्दैन । नयाँ वर्ष आउँदा मलाई भ्याइनभ्याइ पथ्र्यो । पोष्टर किनेर ल्याइन्थ्यो । अनि, मिल्ने साथीलाई कविता सायरी आदि लेखेर दिन चलन थियो । ती पोष्टर घरका भित्ताभर हुन्थे,’ उहाँले स्मरण गर्नुभयो ।

मनहरी गाउँपालिकाका जिते अधिकारी भन्नुहुन्छ–नयाँ वर्षको दिन सबेरै नुहाएपछि घरमा राता अक्षता निधारमा टल्काउँदै हिँडिन्थ्यो । तर, समयको गतिले मान्छेलाई कति सौखिन र अल्छी बनाएको छ ।

‘मोबाइलको सुरुवातसँगै नयाँ वर्ष मनाउने परिपाटीमा परिवर्तन देखिन थाल्यो । मोबाइल सेवा लिन थालेपछि पहिलेजस्तो कसले झन्झट गरिराखोस्, ग्रेटिङ कार्ड किन्नलाई ?,’ उहाँले थप्नुभयो–मोबाइलबाट म्यासेज लेख्यो, पठायो । साथीलाई हुलाकी बनाउनुपर्ने अवस्था अन्त्य भयो । ‘आफूलाई मन लागेका कुरा मोबाइलबाटै म्यासेजमा पठायो,’ अधिकारीले भन्नुभयो ।

एक दशकअघिसम्म हामीले मनाउने गरेको नयाँ वर्ष र हाल मनाउने गरेको नयाँ वर्षमा धेरै नै परिवर्तन आएको महसुस गर्न सकिन्छ । साँच्चै नयाँ वर्ष नयाँ तामझामसाथ मनाउन सबै लागिपर्ने गरेका छन् । अझ हाल त नयाँ वर्षमा विदेशी सँस्कृतिको प्रभाव बढ्दो छ । कन्सर्ट गर्ने, पार्टी गर्ने अनि जुवातास खेलेर नयाँ वर्षलाई ‘स्वागत’ गर्ने परम्परा भइसकेको छ नेपालीको । यसको प्रभाव मकवानपुरमा पनि देखिन्छ ।

हेटौंडा–१८ की स्वस्तिका थापाका अनुसार हाल नयाँ वर्षको अवसर पारेर घुम्न पार्क, नदीकिनार तथा एकान्त जता गए पनि नवजोडी भेटिहाल्छन् । मानौं, अब जोडी नभएका मानिसका लागि त यो केही होइन भन्ने खालको कुरा पनि नयाँ वर्षले देखाउँछ ।
‘स्कुल पढ्ने बेलासम्म इमेल र इन्टरनेटप्रति खासै झुकाव र जानकारी नभएका हामी । त्यतिबेला नयाँ वर्ष मनाउने तरिका र अहिलेको नयाँ वर्ष मनाउने तरिकामा ठूलै परिवर्तन भएको पाउँछु,’ उहाँलाई लाग्छ कि सूचना र प्रविधिले यति ठूलो फड्को मारिसक्यो कि, कतै सपना त होइन भन्ने लाग्छ रे ।

हेटौंडाकै रवीन्द्र कार्की भन्नुहुन्छ–कुनै बेला पुस्तक पसल तथा नजिकको गिफ्ट पसलमा गएर नयाँ वर्षका लागि मैले ग्रेटिङ कार्ड नकिनेको होइन । ‘कार्डमा आफ्ना शुभकामनाका सन्देश लेखेर साथीभाइ तथा मनपर्नेलाई दिएका याद अहिले पनि ताजा छन्,’ उहाँले भन्नुभयो–त्यसबेला कति सरल लाग्दथ्यो यसरी शुभकामनाका सन्देश आदानप्रदान गर्न । अनि, आफ्नै तरिकाले नेपाली मौलिकतामा आधारित भएर मनाइने गर्दथ्यो नयाँ वर्ष ।