हुरीपीडितलाई ग्लोबल मेडिकद्धारा भाँडाकुँडा वितरण

0
Shares

काठमाडौं ।
प्राकृतिक विपत्तिमा परेका बारा र पर्साका हावाहुरीपीडित परिवारलाई विश्वभर सहयोग पु¥याउँदै आएको क्यानडाको गैर–सरकारी संस्था ग्लोबल मेडिकले भान्साका लागि अत्यावश्यक भाँडाकुँडा वितरण गरेको छ । बारा र पर्सामा चैत्र १७ गते राती हावाहुरी चल्दा २९ जनाको ज्यान गएको थियो ।
हुरी प्रभावित विभिन्न गाउँमा तीन सय सेट साम्रागी वितरण गरिएको नेपालका सहजकर्ता नगेन्द्र श्रेष्ठले बताउनुभयो । हुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुवाईका विभिन्न परिवारलाई २ सय ३० सेट भान्साको सामान वितरण गरिएको हो । क्यानडाबाट आएका ग्लोबल मेडिकका प्रतिनिधि कोलेन जोनसोन, केन्नी लाइम्सलगायतले स्थानीयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । त्यस्तै हुरी प्रभावित क्षेत्र बाराको कलैया उपमहानगरपालिका–१३ चोक्टी फुलवारियामा २५ सेट, पकरौता नगरपालिका–७ बेनौलीमा रहेका पीडितका लागि २५ सेट र विभिन्न ठाउँमा रहेका अन्य परिवारलाई २० सेट भान्सामा प्रयोग गरिने भाँडाकुँडालगायतका अन्य सामग्री वितरण गरिएको हो ।
उक्त क्षेत्रमा साम्रगी वितरणका लागि पूर्व उर्जा राज्यमन्त्री सत्यनारायण भगत ‘विन’ ले पनि संस्थालाई सहजीकरण गर्नुभएको थियो । ग्लोबल मेडिक विश्वमा हुने विभिन्न प्राकृतिक प्रकोपमा सहयोग र उद्दारका लागि सहयोग गर्दै आएको संस्था हो । यस्ता घटनाबारे जानकारी पाउनासाथ संस्थाका प्रशासनिक अधिकारी राहुल सिंहले उक्त देशमा आवश्यक सामग्री र सहयोगको संयोजन गर्ने गर्नुहुन्छ ।