झापामा अनुमति बिना नै विद्यालय सञ्चालन

0
Shares

भद्रपुर ।
झापाका केही विद्यालयले स्थानान्तरणको अनुमति बिना नै विद्यालय सञ्चालनमा आएका छन् ।
मेचीनगर नगरपालिका–४ स्थित बालजगत इङ्लिस स्कुलले ३ नम्बर वडाबाट सञ्चालनमा ल्याएको छ । एउटा वडादेखि अर्को वडामा सार्दा स्थानान्तरणको कागजात बनाएर मात्रै सार्ने प्रावधान भए पनि उक्त स्कुलले प्रक्रिया पूरा नगरेको पाइएको छ ।

सामुदायिक र संस्थागत निजी विद्यालयहरूको सहमति–पत्र पेश गरिसकेपछि मात्र वडाले सहमति दिनसक्ने कानूनी प्रावधान भएपनि नियम पालना गरेका छैनन । त्यस्तै बिर्तामोड नगरपालिकाबाट बसाइ सराइ सहमति–पत्र लिएर आएको एमइटी पब्लिक इङ्लिस स्कुललाई मेचीनगर वडानम्बर ६ मा सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको छैन । तर पनि विद्यालयका सञ्चालकहरूले न्यूनतम् कानूनी प्रक्रिया पूरा नगरी नै विद्यालय सञ्चालनमा ल्याएका छन् । अहिले भर्ना अभियान थालिएको छ । बिर्तामोड नगरपालिकाबाट बसाइ सरी आएको लालीगुराँस इङ्लिस स्कुललाई पनि वडा नं. ८ ले सहमति–पत्र नदिई नै भर्ना अभियान थालेको छ ।

मेचीनगर नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति लोकबहादुर दाहालले अन्यत्रबाट मेचीनगर क्षेत्रमा आएका विद्यालयहरूलाई अनुमति नदिएको बताउनुहुन्छ । पछिल्लो समय मेचीनगरमा विद्यालयहरू स्थानान्तरण हुने क्रम बढ्दो रहेको उहाको भनाइ छ । स्थानीय सरकारले ऐन, कानून निर्माण नगर्दा हाल स्थानान्तरण भएका विद्यालयको हकमा के हुने भन्ने अस्पष्टता कायमै रहेको जनकारहरुको बुझाइ छ । मेचीनगरपालिकाकी उपमेयर मीना उप्रेतीले २०६४ सालको शिक्षा ऐनले कुनै पनि विद्यालय स्थापना तथा स्थानान्तरण गर्न स्थानीय सरकारलाई अधिकार नै नदिएको उल्लेख गर्नुभयो । नगरपालिकाले प्राप्त कानूनी अधिकारलाई आधार मानेर मात्र विद्यालयहरूलाई सञ्चालन अनुमति दिन सक्ने उहाको भनाइ छ । विद्यालय सार्ने प्रक्रियामा स्थानीय सरकारलाई सहमति दिने अधिकार नभएको उहले बताउनुभयो ।

निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन (प्याब्सन) मेचीनगरका अध्यक्ष डम्बर रुचालले मेचीनगरमा केही विद्यालयहरू स्थानान्तरण गरेर सञ्चालनमा आएको जानकारीमा आएको बताउनुभयो । कुनै पनि विद्यालयले स्थानान्तरण गर्दा न्यूनतम् कानूनी प्रक्रिया पूरा गर्नुपर्ने नियम रहेको उहाको भनाइ छ ।