भर्नाकै दिन पाठ्यपुस्तक


सलिम अन्सारी,प्युठान । तपाइँ आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न खोज्दै हुनुहुन्छ प्युठानमा वैशाख २ देखि भर्ना खुला गरिएको छ । छोराछोरीलाई भर्ना गर्ने बित्तिक्कै तपाइँ रित्तो हात फर्कन पर्ने छैन ।

हरेक सामुदायिक विद्यालयले हातैमा बिध्यार्थीले पढ्ने पाठ्यपुस्तक थमाएर पठाउनेछन् ।यस वर्ष प्युठानमा भर्ना अघी नै जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त पुस्तक पठाएकाले समस्या छैन । ‘भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक हुन्छ ।’ जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख शिव पण्डितले भन्नुभयो, जिल्लामा आवाश्यक पर्ने पाठयपुस्तक भित्रीसकेको छ। उहाँका अनुसार हरेक सामुदायिक स्कुलले पुस्तक खरिद गरेर विद्यार्थीहरुलाई निःशुल्क उपलव्ध गराउनेछन् ।

‘प्युठानमा भर्ना भएको दिन पुस्तक उपलव्ध गराउन कुनै समस्या छैन । ढुक्क भएर भर्ना गर्नूस्, भर्नासंगै पूरा सेट भएको पाठ्यपुस्तक झोला भरी लिएर जानूस्’ उहाँले भन्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखाले आवास्यक पर्ने नया पुस्तक जिल्ला भित्राएर नौ वटै स्थानीय तहको केन्द्रमा पुर्याएको हो। भर्नासंगै पुस्तक बितरण गर्ने तयारीमा बिध्यालय छन। गाउँपालिका भित्रका २७ वटै बिद्यालयले आवाश्यक पर्ने पुस्तक लिईराखेको सरुमारानी गाउपालिका शिक्षा प्रमुख पुर्ण बहादुर केसीले बताउनुभयो।

बिद्यार्थीले भर्नासंगै नया पुस्तक पाउने जनता माबी बड्डडाडाका प्रअ योग कुमार पाण्डेले बताउनुभयो। माग गरिए अनुसार सवै बिषयका पुस्तक पाएको उहाले बताउनुभयो।जिल्लामा नयाँ शैक्षिक सत्र २०७६ को लागि वैशाख २ देखि सामुदायिक विद्यालयले भर्ना अभियान चलाउनेछन् । ‘ती बिद्यालयले वैशाख २ देखि १५ गतेसम्म विद्यार्थी भर्ना गर्नेछन्’पण्डितले भन्नुभयो , ‘त्यसपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार घरदैलो कार्यक्रम हुनेछ ।’

घरदैलो कार्यक्रम गरी सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउने रणनीति सबै सामुदायिक विद्यालयले गर्ने जिल्ला शिक्षा समन्वय ईकाईले जनाएको छ । शिक्षा विभागको निर्देशनअनुसार नै हरेक सामुदायिक विद्यालयलाई घरदैलोलगायतका कार्यक्रम गरेर विद्यार्थी भर्नादरलाई शतप्रतिशत बनाउन निर्देशन गरिएको कार्यालयले बताएको हो ।

जिल्लामा ३९५ बिद्यालय मध्ये ३५२ सामुदायिक छन। जिल्लाको सरुमारानी गाउँपालिकाले कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबाट भर्ना शुल्क नलिने सरकारी निर्णय कार्यान्वयनमा ल्याएको छ । गाउपालिकाभित्रका सवै सरकारी बिध्यालयमा शिक्षकको दरबन्दी पुर्याईएकाले भर्ना शुल्क नलिने निर्णय गरिएको सरुमारानी ३ का वडाअध्यक्ष भिम मर्साङ्गीले बताउनुभयो ।