तीन जिल्लामा निःशुल्क कम्प्युटर हार्डवेयर तालीम    


गलकोट, तीन जिल्लामा एकै साथ २६५ घण्टे निःशुल्क कम्प्युटर हार्डवेयर तालीम शुक्रबारदेखि शुरु गरिएको छ । धवलागिरि बहिरा आवासीय माध्यामिक विद्यालय बागलुङको अयोजना तथा सिटीइभिटीको आर्थिक सहयोगमा बागलुङ, पर्वत तथा म्याग्दीमा तालीम सञ्चालन गरिएको हो ।

बढ्दो वैदेशिक रोजगारीलाई घटाएर युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ कम्प्युटर हार्डवेयर प्राविधिक तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक रेशमबहादुर श्रीषले बताउनुभयो ।

हार्डवेयरमा सफ्टवेयर राखेर सञ्चालित हुने कम्प्युटरको खराबी, समाधानलगायत हार्डवेयरसम्बन्धी सम्पूर्ण प्रशिक्षण दिइने तालीमका प्रशिक्षक अनन्तविजय श्रेष्ठले बताउनुभयो । बागलुङसहित पर्वत र म्याग्दीमा तालीम लिन चाहने प्रस्तावित निवेदनबाट छनोट गरी २०÷२० जनालाई तालीम प्रदान गर्न थालिएको हो । तालीममा कम्प्युटरका मुख्य र सहायक पाटपुर्जा मर्मत तथा फेरवदल गर्नेलगायतको विषयमा सहजीकरण गरिने बताइएको छ ।

तालीममा एक विद्यार्थीवापत रु १८ हजार खर्च लाग्ने सिटीइभिटीले जनाएको छ । तालीममा सहभागी विद्यार्थीलाई दिनको रु ४० खाजा खर्चवापत भत्तासमेत उपलब्ध गराइनेछ । तालीमपछि कम्प्युटर मर्मत गरेरै स्वरोजगार बन्ने अपेक्षा राखेको सहभागी दुर्गाकुमारी शर्माले बताउनुभयो ।

बहिरा अपाङ्गता भएकालाई अध्यापन गराउँदै आएको यस विद्यालयले कक्षा १ देखि १० सम्म सामान्य शिक्षा र १० देखि १३ कक्षासम्म कम्प्युटर इञ्जिनीयरिङ विषयमा अध्यापन गराउँदै आएको छ । विद्यालयमा हाल २८० बहिरा अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।