ज्येष्ठ नागरिकको १३१ वर्षमा निधन  


राजविराज, जीवनकालको अधिकांश समय पशुपालनमै बिताउनुभएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिनुभयो ।

उहाँ नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहनुभएको स्थानीयवासीको भनाइ छ । आफ्नो जीवनकालको अधिकांश समय उहाँले कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताउनुभयो । यसैबीच आज उहाँको कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित चाँदनीचोकमा मोटरसाइकल दुर्घटनामा परी आज बिहान एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २० वर्षीय चनेश्वर जोशी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा२६प ६००२ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको हो ।
रासस