‘बुबाआमाले कामदार तथा छोराछोरीले काम नपाउने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’

0
Shares

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समय बुबा आमाले काम गर्ने कामदार नपाउने र छोरा छोरीले काम नपाउने प्रवृत्ती अन्त्य गर्नुपर्ने बताउनुभयो ।

विहिवार जिल्लाको दामेचैर, थाक्रे गाउँपालिका वडा नं. ५ मा रहेको प्रेम सागर पाउण्डेशन नेपालको जनभोजन तथा दशौं बार्षिकोत्सवको अवसरमा बोल्दै सांसद बस्नेतले शिक्षित युवाहरु शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरी नेताको पछि लाग्ने र परम्पारागत पेशलाई त्याग्दै हिड्ने प्रवृत्तीले बेरोजगारको संख्या बढेको बताउनुभयो ।

उहाँले आत्मानिर्भको बाटो रोज्नु पर्ने बताउँदै परम्परा तथा संस्कृतिलाई सम्पत्तीसँग र कृषिलाई उद्योगसँग जोड्दै आर्थिक बृद्धिदरलाई उच्च बनाउँदै सम्पूर्ण नेपाली युवाहरु स्वरोजगारमूखी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो परम्परागत पेशालाई त्यागी शैक्षिक प्रमाणपत्र बोकी नेताको पछि लाग्ने परम्पराको अन्त्य गर्दै प्रमाणपत्रको आधारमा ऋण लिई स्वरोजगारमूलक उद्योगहरु सञ्चालन गरी आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले स्वारोजगारमूखी नीति तथा कार्यक्रमहरु ल्याएको जानकारी गराउँदै सरकारले सहुलीयत दरमा महिला, दलित, विद्यार्थी, विदेशबाट फर्किएका युवा लगायतलाई ऋण उपलब्ध गराउने जानकारी गराउँदै भन्नुभयो, ‘जुन ठाउँमा जे उत्पादन हुने सम्भावना छ त्यही अनुसार कृषि उत्पादन गर्नुपर्छ ।’

रोजगारीको निम्ती भारतबाट लाखौं नेपालमा काम गर्न आउने गरेको भन्दै उहाँले विदेशी नागरिकले नेपालमा आई गर्ने काम गर्न नेपाली आफैले दक्षता हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले देशको विकास र समृद्धिको लागि कतिपय कुराहरुमा नेपालका प्राविधिक तथा उपकरणहरुले पर्याप्त नहुने भएकाले विदेशी लगानी तथा प्राविधिकहरुको आवश्यक रहेको समेत बताउनुभयो ।

परम्परागत शिक्षालाई आधुनिकतामा परिणत गर्नुपर्ने बताउँदै उहाँले नेपाली युवाहरुले योग्यता क्षमताको विकास गरी राष्ट्र निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

योग्य, क्षमतावान तथा दक्ष युवाहरुले कसैको नोकर हुने भन्दा पनि आफै मालिक हुने योजनाका साथ अघि बढ्नुपर्ने बताउँदै शिक्षालाई रोजगारी, व्यवहारिक तथा प्राविधिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देशका दक्ष तथा क्षमतावान युवाहरुले हामी दिएको खाना खाँदैनै, आफै उत्पादन गरेर खान्छौं भन्ने भावनाको विकास गर्नुपर्छ ।’

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कसैको आलोचना गर्नु भन्दा पनि वास्तविकतालाई बुझ्नुपर्ने बताउँदै नेपाल वर्तमान समयमा शिक्षा, स्वास्थ्य, सञ्चार यातायात लगायतमा आमुल परिवर्तनको चरणमा रहेको बताउनुभयो ।

उहाँले आर्थिक वृद्धिदरलाई उच्च बनाउन पर्यटन तथा आधुनिक प्रविधिको विकास गर्दै तालिम तथा गोष्ठिहरुको व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै मुलुकलाई समृद्ध बनाउन उद्योग, कलकारखाना, पर्यटन, आधुनिक कृषि प्रणाली, सञ्चार प्रविधि लगायतको नजरबाट हेर्नुपर्ने बताउनुभयो ।