अन्तरराष्ट्रिय मिडिया सम्मेलन शुरु

0
Shares

काठमाडौँ ।
मिडिया क्षेत्रका जल्दाबल्दा विषयमा छलफल गर्न आजदेखि ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’ शुरु भएको छ । मिडिया एकेडेमीले आज भृकुटीमण्डपमा आयोजना गरेको सम्मेलनमा नेपालका मिडियाका लगानीकर्ता, सम्पादक, समाचारदाता, मिडिया विद्यार्थीलगायतको उपस्थिति रहेको आयोजकले बताएको छ ।

मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेलले सरकारले मिडियामैत्री कानून बनाई कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोहरुलाई सहज रुपमा अनुमतिपत्र दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सामुदायिक रेडियोको अनुमतिपत्र रोक्नुहुँदैन ।”

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेलले कार्यक्रमबाट मिडियाका बारेमा छलफल शुरु भएको बताउनुभयो । ‘रातोपाटी डटकम’का संस्थापक प्रधानसम्पादक ओम शर्माले एउटा अनलाइनमा आएका कुरा जस्ताको तस्तै अर्कोमा सार्ने समस्या रहेको बताउनुभयो ।

सम्मेलनसँगै तीन दिन नै मेला आयोजना हुने आयोजकले बताएको छ । मेलामा ६७ कक्ष छन् । मिडियालाई चाहिने सामग्री कक्षमा रहेको आयोजकले जनाएको छ ।
रासस