गाउँपालिकाको गरिब घरधुरीलाई निःशुल्क सोलार

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको बराहपोखरी गाउँपालिकाभित्र पर्ने ७० घर गरीब घरपरिवारलाई निःशुल्क सोलार वितरण गरिएको छ । सौर्य उर्जा प्रवद्र्धन बोर्डको तीन लाख रुपैंयाँ अनुदानमा खरिद गरिएको सोलार बिहीबार निःशुल्क प्रदान गरिएको हो ।

दुई वटा बल्ब, ब्याट्री र आवश्यक तारसहितको सोलार गाउँपालिका उपप्रमुख गोमा मगरले बितरण गर्नुभएको हो । केन्द्रीय प्रशारण लाईनको विद्युत विस्तार नभएको उक्त गाउँपालिकामा प्रत्येक वडाका वडाअध्यक्षले गरेको सिफारिसको आधारमा सोलार वितरण गरिएको स्थानीय नेता निश्चल खड्काले जानकारी दिनुभयो ।

छ वटा वडा रहेको उक्त गाउँपालिकाको वडा नम्बर–१ मा दश, २ र ३ मा आठ/आठ, ४ मा दश, ५ मा ११ र ६ मा २२ घर परिवारलाई निःशुल्क सोलार वितरण गरिएको जनाइएको छ । लामो समयदेखि अध्यारोमा रात कटाउँदै आएका उक्त गाउँपालिकाका गरीब घरपरिवार दश वाट क्षमताको सोलार पाएपछि हर्षित भएका छन् ।

सडक, खानेपानी, विद्युत तथा सञ्चार लगायतका आधारभूत सेवासुविधाका हिसावले समेत उक्त गाउँपालिका पछि परेका छन् ।