नेपाल चिकित्सक संघले सरकालाई दियो ७२ घण्टे अल्टिमेटम

0
Shares

काठमाडौँ ।
नेपाल चिकित्सक संघले चिकित्सकहरुको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा गर्नका लागि काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधिहरु लगायतका चिकित्सापेशासँग सम्लग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरुबीच बिहीबार बसेको बैठकले संघको कार्यकारिणी समितिलाई दिएको म्यान्डेट अनुरुप आजैको मितिले ७२ घण्टाभित्र नेपाल सरकारले वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

स्वास्थ्य क्षेत्र ज्यादै नै संवेदनशिल र जटिल भएको एवं चिकित्सकीय पेशालाई समय सापेक्ष अध्ययन गरिराख्नु पर्ने, बृद्धि विकासका विभिन्न गतिविधिहरुमा निरन्तर समावेश हुनु पर्ने परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारलाई समायोजन प्रक्रिया अगाडी बढाउन संघबाट पटक–पटक गरिरहेको आग्रह गरिएकै हो ।

समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ ।

अन्यथा, चिकित्सकहरुको माग र संवेदनशिलतालाई बेवास्ता गर्दै चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरु देशभर संचालन गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ । नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्ने समेत यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ । संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ ।