६ चौकी पार गर्दै चोरीका मोटरसाइकल हेटौंडामा

0
Shares

हेटौँडा ।
मकवानपुरको इलाका प्रहरी कार्यालय भीमफेदीले पान्द्राङमा बेवारिस अवस्थामा फेला पारेको मोटरसाइकल धनीलाई बुझाएको छ । प्रहरी कार्यालयले बा. ९९ प ५८० नम्बर रातो पल्सर मोटरसाइकल सम्बन्धितधनी हुलास इन्सभेस्मेण्ट फाइनान्सबाट दर्ता भएको भैंसेपाटी निवासी रोशन महतोलाई बुझाएको हो ।

काठमाडौंका विभिन्न स्थानबाट चोरेर ल्याइएका मोटरसाइकलसहित चोरी कार्यमा संलग्नलाई पनि मकवानपुर प्रहरीले पक्राउ गर्दै आएको छ ।
फागुन ७ गते काठमाडौं भाटभटेनीबाट चारिएको मोटरसाइकल काठमाडौं–कुलेखानी–भीमफेदी हँुदै छोटोमार्ग प्रयोग गरेर हेटौंडा ल्याउने क्रममा प्रहरीले भैंसे बजारनजिक बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिनुभयो ।

प्रहरीले केही समयअघि हेटौंडा–११, थानाभ¥याङबाट लु. ३९ प ९५०० र बा. ५३ प ७५९ नम्बर मोटरसाइकल चेक गर्दा चोरी भएको फेला पारेको थियो । काठमाडौं बबरमहलबाट हराएको धादिङको कटुञ्जे–१ घर भएर काठमाडौं बस्ने वर्ष ३७ का तिलक श्रेष्ठको वास्तविक नम्बर बा. ९४ प ८०६६ (परिवर्तित लु. ३९ प ९५०० नम्बर प्लेट टाँसिएको) मोटरसाइकल बरामद भएको थियो ।

काठमाडौंको पुरानो नगरपालिका रोड धर्मपथबाट बा. ९३ प ४८५८ नम्बर (परिवर्तित बा. ५३ प ७५९ नम्बर प्लेट टाँसिएको) काठमाडौं–२६ बस्ने वर्ष ४५ का समन्त तुलाधरको मोटरसाइकल पनि हेटौंडामा फेला परेको थियो ।

उक्त मोटरसाइकलसहित बाराको कोहल्वी नपा–६ बस्ने वर्ष २६ का जीतेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा. ५३ प ७५९ का चालक बाराको करैयामाई गापा बस्ने गोविन्द चौधरी फरार छन् ।

गत जेठ १६ गते प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा रहेको चेकिङ टोलीलाई देखेर हेटौंडा–१४, कुखरेनी खोलामा बा. ५६ प २३६३ नम्बर मोटरसाइकल छाडी एक अभियुक्त फरार भएका थिए । काठमाडौं आरुबारी–९ बस्ने प्रेमबहादुर बिकको चोरी भएको वास्तविक नम्बर बा. ६० प ३२१४ रहेको उक्त मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

हेटौंडा–कुलेखानी–काठमाडौं छोटोमार्गमा सुरक्षाका दृष्टिले चुनौती देखिएका छन् । उक्त मार्ग हुँदै चोरीका मोटरसाइकल नाका कटाउन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको छ । काठमाडौंदेखि हेटौंडा आइपुग्दा फर्पिङ, फाखेल, सिस्नेरी, भीमफेदी, भैंसे र चौकीटोलको प्रहरी चौकी पार गर्नुपर्छ ।