भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शुरु

0
Shares

भक्तपुर ।
आठ दिन नौ रातसम्म मनाईने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा बिहीबारदेखि सुरु भएको छ ।भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।भैरबनाथको पुजा सुरु भएसंगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पुजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पुजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।

तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।गुठी संस्थान भक्तपुरका प्रमुख सुवेदीले बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको बताउनुभयो ।

जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।

चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसंग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग विहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग विहे गर्थे ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै संचालनमा ल्याएका थिए ।

एकदिन एक बलवान् राजकुमारले राजकुमारीसँग विहे गरे । राती राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनेको भनाई छ । भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुइटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतीलक गरिदिए ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरेको भनाई छ । यो लिङ्गो भक्तपुरको चित्तपोल स्थित सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाको बली चढाइ सोही रूख काटी ल्याउने प्रचलन अहिलेसम्म चल्दै आएको छ । लिङ्गोमा राख्ने ध्वजा एकजोडी र लिङ्गो ठड्याउने आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अंकित हुन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सम्वत २६८ अर्थाते लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुसीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

जात्रामा रथ तान्दा झगडा हुने र ढुङ्गा हानाहान रोक्नलाई भक्तपुर नगरपालिकाले बिभिन्न समितिहरु गठन गरेको छ । यसवर्ष भक्तपुर जिल्ला प्रशासन र प्रहरीले सुरक्षा व्यबस्था कडा पारिएको छ । जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।