नायब सुब्बासहित नौ जनाविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा र दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँका नासु रामकुमार फुयाँलसहित सोहि कार्यालयमा कार्यरत शाखा अधिकृत जगतबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको हो ।

फुयाँलले राप्ती प्लेसमेन्ट सर्भिस प्रा.लि. बसुन्धाराका संचालक रविन्द्र अधिकारीविरुद्ध वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौंमा विचाराधिन रहेको वैदेशिक रोजगार सम्वन्धी मुद्दालाई सहजीकरण गरिदिने भन्दै साठी हजार घूस लिएको खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार आयोगबाट खटिएको टोलिले फुयाँललाई पक्राउ गरी अनुसन्धानका अधिकृत बोहराकोसमेत संलग्नता देखिन आएको छ ।

दुवै जनाको मिलेमतोमा यस्तो गरेको खुल्न आएकाले उनीहरुलाई साठी हजार जरिवाना सहित कारबाहीको माग बुधबार अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यसैगरी आयोगले सर्लाहीको बरहथवा नगरपालिका–१३ विनमाटोलभित्रको सडक ढलान गर्ने क्रममा कमसल निर्माण समाग्रीको प्रयोग गरी रकम हिनामिना गर्ने नगरपालिकाका प्राविधिकसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सम्झौताबमोजिमको शर्त पालना नगरी आर्थिक अनियमिता गर्ने कार्यमा संलग्न बरहथवा नगरपालिकाका प्राविधिक इन्जिनियर सञ्जीवन यादव, प्राविधिक सव इन्जिनियर अनिलकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष नेपाल साह, सचिव प्रमोदकुमार राय र कोषाध्यक्ष कलापती कुमारी देवीविरुद्ध जनही चार लाख ६३ हजार ९९० रुपैयाँ ६२ रकम बिगो माग गर्दै आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

कुल ३७४ मिटर लम्बाइ र १२ फिट चौडाईको बाटो ढलान गर्नका लागि रु २७ लाख रकम विनियोजन भएकामा उनीहरुले मिलेमतोमा मापदण्ड विपरीत आठ फिट र १० फिट कमसल निर्माण सामग्रीको प्रयोग गरी ढलान गरी सरकारी रकम हिनामिना गरेको आयोगले जनाएको छ । उनीहरुले सडक ढलानका क्रममा वास्तविक भन्दा बढी काम भएको देखाई आकार परिवर्तन गरी थप आकार परिवर्तनको झुठ्ठा बिल भरपाई बनाई भुक्तानी लिएको अनुसन्धानका क्रममा पाइएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

डाक्नेश्वरी नगरपालिका– ३ को गाउँ ब्लकको जग्गा नापी गराइदिने प्रयोजनको लागि टोलीमा कार्यरत कर्मचारीहरूबाट सेवाग्राहीसँग डोर हाजिरबाट जन्जिरदारको काम गर्नका लागि राखिएका पिन्टुकुमार यादवले छब्बीस हजार घूस लिएको खुल्न आएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँ अनुसार यादवलाई फाल्गुन मसान्तसम्मका लागि डोर हाजिरबाट जन्जिरदारको काम गर्नका राखिएको थियो । आयोगले यादवलाई सो रकमसहित कारबाहीको माग गरि अदालतमा मुद्दा दागर गरेको हो ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भिस्वा, वीरगञ्जको प्राथमिक शिक्षिका संगिता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको खुल्न आएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षिका संगिताले बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सेवा प्रवेश गरि बढुवा नियुक्तीसमेत भई लाभ लिईरहेकी छिन् । आयोगले प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही माग गर्दै अदालतमा मुद्दा दागर गरेको छ ।