शिवराज नगरपालिका खुल्ला दिसामुक्त घोषणा

0
Shares

कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका एक भव्य समारोहबीच खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । नगरभित्रका ११हजार ४सय ५४ घरधूरीमा शौचालय निर्माण, प्रयोग र आनीबानीमा परिवर्तन भएपश्चात नगरलाई एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त नगर घोषणा गरिएको हो ।

कार्यक्रमको पूर्वसन्ध्यामा तामझामका साथ पञ्चेबाजाका साथ ¥याली निकाली चन्द्रौटा वजार परिक्रम गरिएको थियो । आ–आफ्ना पहिचानसहित रङ्गीचङ्गी भेषभुषामा सजिएर विभिन्न संघसंस्था, सहकारी, युवा क्लब, बालक्लब, महिला समूह, स्वयंसेविकाहरु ब्यानर, प्लेकार्ड बोकेर ¥यालीमा सहभागी थिए ।

“शिवराज नगरपालिकाको स्वभिमान, खुल्ला दिसामुक्त अभियान” भन्ने नाराका साथ नगरप्रमुख नेत्रराज अधिकारीले नगरलाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन् । शौचालय निर्माण र प्रयोग सरसफाई क्षेत्रको पहिलो खुडकिलो भएको नगरप्रमुख अधिकारीले बताए । एक घर एक शौचालय निर्माणको लागि अभियान संचालन गरेर सबैको साथ र सहयोगले सफलता प्राप्त गरेको अधिकारीले उदृत गरे ।

अभियान संचालनपूर्व नै नगरपालिकाका ११ वटा वडामध्ये ३ वटा वडा खुल्ला दिसामुक्त घोषणा भएको प्रतिवेदन प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले जनाए । अभियान संचालन पश्चात नगरका ८ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गरी सिंगो नगरलाई नै खुला दिसामुक्त घोषणा गर्न सफल भएको नगरप्रमुख अधिकारीले बताए । अभियान सफल पार्न हस्ताक्षर अभियान, लोटा खोस्ने, अभिमुखीकरण कार्यक्रम, सचेतना सम्वन्धी गोष्ठी, नाटक प्रदर्शन लगायतका कार्यक्रमहरु गरिएको अधिकारीले जनाए ।

नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्दै नगर प्रमुख अधिकारीले आगामी योजना समेत प्रस्तुत गरेका थिए । आगामी दिनमा शिवराज नगरपालिकालाई पूर्ण सरसफाई नगर, सुरक्षित खानेपानीको पहुँच, बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउने योजना अघि सारिएको जानकारी दिए ।

प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले साबुन पानीले हात धोएर कार्यक्रमको उद्घाटन गरेका थिए । नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गरेकोमा प्रदेश सांसद केसीले आयोजक टिमलाई धन्यबाद समेत दिए । अझै पनि शौचालय निर्माण र प्रयोग गर्नुपर्छ भनेर सिकाउनु लाजमर्दाे कुरा भएको भन्दै आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए । सांसद केसीले शौचालय निर्माण र प्रयोगबारे नगरपालिकाले समय समयमा अनुगमन गर्नुपर्ने समेत सुझाव दिए । खुल्ला दिसामुक्त घोषणा गर्दैमा सरसफाई अभियान पुरा नहुने भन्दै अभियानलाई निरन्तर अगाडि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराए ।

सरकारको सुखी नेपाली, समृद्ध नेपाल नारालाई स्थानीय सरकार र प्रदेश सरकारले आत्मसाथ गर्दै विकास र समृद्धिमा कुनै कसुर वाँकी राख्न नहुने प्रदेश सांसद केसीले जिकिर गरे । जिल्लाको हुलाकी सडक कालोपत्रेको लागि टेण्डरको प्रकृया अघि बढेको उद्घोष गर्दै सांसद केसीले अब गाउँ गाउँमा विकासले गति लिने समेत दाबी गरे ।

कार्यक्रममा बोल्ने अन्य बक्तहरुले सरसफाई स्वास्थ्यको लागिको विषय रहेका भन्दै नगरपालिकाले पूर्ण सरसफाई तथा स्वच्छ खानेपानीको लागि नया योजना ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण योगदान पु¥याउने सरोकारवालाहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, युनिसेफका वास अफिसर रोकश मलि, सरसफाई दुत व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, राष्ट्रिय मावि चन्द्रौटाका प्रधानाध्यापक टिकाराम पाण्डे, हिमपात साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज सुवेदी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु प्रसाद खतिवडा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।