विप्लवलाई हतियार बिसाउन रक्षामन्त्रीको आग्रह

0
Shares

इलाम ।
रक्षामन्त्री इश्वर पोख्रेलले हतियार उठाएको नेत्र बिक्रम चन्द (बिप्लव समूह) संग वार्ताको कुनै सम्भावना नरहेको बताउनु भएको छ । उहाँले पहिला हतियार बिसाउन बिप्लवलाई आग्रह गर्नुभयो । कम्यूनिष्ट नेता स्वर्गिय रत्नकुमार वान्तवाको ४० औं स्मृति दिवसको अवसरमा बुधबार इलामको माङ्सेबुङ्ग गाउँपालिका स्थित इभाङमा वान्तवाको शालिक अनावरण गर्न आइपुग्नु भएका मन्त्रि पोख्रेलले हतियार देखाएर चन्दा उठाउने, बम पड्काएर मान्छे मार्ने जस्ता समूहसँग सरकारले वार्ता नगर्ने स्पष्ट पार्नुभयो ।

सरकारले कुनै राजनितिक पार्टी र दललाई निषेध गर्न नखोजेको पोख्रेलले स्पष्ट समेत पार्नुभयो । फरक एक प्रसङ्गमा मन्त्रि पोख्रेलले रत्नकुमार वान्तवाले देखाएको राजनैतिक बाटोमा कम्यूनिष्ट पार्टी मात्र नभइ सबै पार्टीहरु लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले छोटो समयमा कम्यूनिष्ट पार्टीमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै रत्नकुमार वान्तवा बहुप्रतिभाका धनी समेत रहेको बताउनुभयो ।

पोख्रेलले रत्नकुमार वान्तवासंग बिताएका पलहरु अझैपनि झल्झली आउने गरेको बताउनुभयो । २००८ साल चैत २७ इलामको चमैतामा जन्मिनुभएका वान्तवाको भूमिगत राजनीति गरीरहेकै समयमा २०३५ साल चैत २७ गते इभाङमा गोलि हानी हत्या गरीएको थियो ।

यसैक्रममा वान्तवाको शालिक अनावरणकै क्रममा नेकपाका उपनेता तथा प्रतिनिधि सभा सांसद सुवासचन्द्र नेम्वाङले माङ्सेबुङ्ग गाउँपालिकाले पछिल्लो समय विकासले फड्को मार्न थालेको वताउनुभयो । यस क्षेत्रमा बाटो, बिजुली जस्ता पूर्वाधारको बिकास हुँदै गएको पनि जनाउनुभयो । विकासमा पछि परेको तथा इलामको कर्णाली भनेर चिनिने माङ्सेबुङको मुहार फेरीदै गएको पनि बताउनुभयो ।

शालिक अनावरण कार्यक्रममा प्रदेश नम्बर १ का साँसद सहित जिल्लाका बिभिन्न स्थानीय तहका जनप्रतिनिधि, नेकपाका नेता कार्यकर्ता सहित सर्वसाधारणको भीड लागेको थियो ।