रामेछापका चार सडक कालोपत्रे

0
Shares

रामेछाप ।
प्रदेश नम्बर ३ को सरकारले रामेछापका चार सडक कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । प्रदेश सरकारले जिल्लाका चार सडकको कालोपत्रेको लागि ठेक्का सम्झौता गरेर निर्माणको काम अगाडि बढाएको हो ।

रामेछाप जिल्लाको विकास निर्माणमा प्रदेश सरकारले सक्रियता देखाएसँगै रामेछापवासी अब भने विकास हुनेमा आशावादी देखिएका छन् । रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा झण्डै १३ सय किलोमिटर भन्दा बढी कच्ची सडक निर्माण भएको छ । तर कालोपत्रे भएका सडक निकै कम छ । हालसम्म सिन्धुली जिल्लाको खुर्कोटबाट मन्थली हुँदै देवीटार सडक खण्ड र सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म सडक मात्र कालोपत्रे भएको छ । सडक निर्माण भएको बर्षौ वितिसक्दा समेत ग्राबेल र कालोपत्रे हुन नसक्दा रामेछापवासी हिलो र धुलोको मारमा पर्दै आएका छन् ।

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलको पहलमा जिल्लाको रणनैतिक चार वटा सडकमा कालोपत्रको काम अगाडि बढएको छ । सडक कालोपत्रे भएपछि रामेछाप कृषि, पर्यटन क्षेत्रमा थप टेवा पुग्नेछ । सडक कालोपत्रे नहुँदा बर्षाको समयमा यातायात सञ्चालन गर्न कठिनाई हुनुको साथै उपत्पादन भएका कृषिजन्य बस्तु बजारसम्म पु¥याउन कठिनाई हुँँदै आएको छ ।

जिल्लामा विकास निर्माणको कामले गति लिएसँगै चार सडक कालोपत्रेको काम अगाडि बढेसँगै यस आर्थिक बर्षमा जिल्लामा थप ३४ किलोमिटर सडक कालोपत्रे हुनेछ । ठेक्का सम्झौता भएका सडक बहुबर्षिय आयोजना अन्तर्गत निर्माण हुनेछ ।

प्रदेश सरकारले सित्खा–भिरपानी–गोगनपानी– फुल्पा–धुले– मेगर्पा–भदौरे हुँदै भोटनागीसम्मका सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । यस आर्थिक बर्षमा भने सित्खादेखि गोगनपानीसम्म १०.२९ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

तीन नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख जयराम श्रेष्ठले जिल्लामा चार वटा सडक कालोपत्रे गर्ने प्रक्रिया अन्तर्गत ठेक्का सम्झौता भएर काम अगाडि बढेको बताउनुभयो । ‘ बहुबर्षिय ठेक्का अनुसार जिल्लाका चार सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको छ, अब तीब्र गतिमा काम अगाडि बढछ ।’

कालोपत्रे हुने सडकमा चौडा नाला समेत गरेर सडक ८ मिटर हुने गरी कालोपत्रे हुनेछ । श्रेष्ठका अनुसार चार वटा सडक अन्तर्गतको ३४ किलोमिट सडक कालोपत्र गर्न यस बर्ष चार सडकको लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तीन नम्बर प्रदेश सरकारले चार वटा सडक बाहेक जिल्लामा थप आठ वटा सडक निर्माणको काम गरिरहेको छ । त्यसैगरी सदरमुकाम मन्थली भदौ राल्टार समाालीथान सालु ७.६३ किलोमिटर सडक आयोजनाको काम पनि ठेक्का मार्फत अगाडि बढेको छ । यस बर्ष खैरेनीघाट लुभ बेथान गाल्वा सडकको स्तरउन्नती २ करोड बजेट रहेको छ ।

सदरमुकाम मन्थलीदेखि सालुसम्मको धुलाम्मे सडक कालोपत्रे हुने भएको छ । सडकको ट्याक खोलेको बर्षौ वितिसक्दा समेत कालोपत्र हुन नसकेको त्यस सडक निर्माणको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेर ठेक्का समेत आह्वान गरिसकेको छ ।

सदरमुकाम मन्थलीलाई केन्द्र बनाएर रामेछापको आठ वटै स्थानीय तहलाई सडक सञ्जालमा जोडिनेछ । जिल्लाको सबै स्थानीय तहमा सडक पुगेपनि ट्याक खोलेको बर्षौ वितिसक्दा समेत कालोपत्र हुन नसकेको थिएन । रामेछापबाट प्रदेश सांसद रहनुभएका अर्थमन्त्री ढुंगेल मन्त्री भएपछि भने रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको छ ।