पोथी पशु बध नगर्न उच्च अदालतको आदेश

0
Shares

दाङ ।
दाङको राप्ती गाउँपालिकाभित्रका मासु व्यवसायीलाई अनुमतिविना पोथी जातका पशु बध गरेर विक्री वितरण नगर्न उच्च अदालत तुलसलीपुरले आदेश जारी गरेको छ ।

न्यायाधीश शिवनारायण यादव तथा ईश्वरराज आचार्यको संयुक्त इजलासले राप्ती गाउँपालिकाको खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरणसम्बन्धी मापडण्ड–२०७४ अनुसार सोमबार उक्त आदेश जारी गरेको हो ।

पोथी पशु बधगरी विक्री गर्न नपाउने मापडण्डअनुसार राप्ती गाउँपालिकाले रोक लगाएपछि केही पोथी पशु बधगरी विक्री गर्ने व्यापारीले राप्ती गाउँपालिकाको कार्यालय, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पशुसेवा केन्द्रविरुद्ध मुद्दा दायर गरेका थिए ।

राप्ती गाउँपालिका–१ हाल भालुवाङमा बस्दै आएका गढवा गाउँपालिका–४ खड्कपुरका वलालुद्दिन खान, राप्ती गाउँपालिका–२ बस्ने गुलामअलि साई, राप्ती गाउँपालिका–१ भालुवाङ बस्ने अब्दुल महजिद र वडा नं ३ बस्ने कर्मसिंह केसीले गत असोज २० गते दायर गरेको मुद्दामा सुनुवाई गर्दै उक्त आदेश जारी भएको हो ।

राप्ती गाउँपालिकाले सो आदेशको स्वागत गर्दै नियमविरुद्ध नागरिकलाई अस्वस्थ र पोथी पशु बधगरी विक्री गर्नेलाई कारवाही गर्ने भएको छ । अहिले राँगाको मासु भन्दै भैँसीको मासु विक्री गर्ने गरिएको भन्दै यस्तो नीति अघि सारिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो ।
रासस