अर्पण शर्माकाे उपदेश: ज्ञानका लागि पढ्ने हो, रिजल्टका लागि होईन

0
Shares

दाङ ।
तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल अर्पण शर्माले पढाई रिजेल्टका लागि नभएर ज्ञानका लागि भएको बताएका छन् ।

भिक्टोरिया ट्यूसन सेन्टरले रिपोर्टस् क्लब दाङ तुलसीपुरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताए । ‘स्कुलमा प्रथम हुने होडबाजी हुन्छ, कुनै एउटा प्रथम भयो, भने अर्को पनि प्रथम हुने होडमा हुन्छ’ उनले भने ‘तर हामीले त्यसरी प्रतिस्पर्धाका लागि नभएर ज्ञान लिन स्कुल जानुपर्छ ।’ शिक्षाको हब भएका देशमा गृहकार्य, रिजेल्ट भन्दा पनि ज्ञानलाई बढि ध्यान दिने गरेको उनले बताए । रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले विद्यालयमा धेरै गृहकार्य दिनु, धेरै रटाउन खोज्नु विद्यार्थीमैत्री पढाई नहुने उनको भनाई थियो ।

विद्यार्थीहरुलाई धेरै होमवर्क दिने, अनावश्यक रटान दिनु राम्रो होईन्’ उनले भने– ‘यसले उनीहरुको सिर्जनशिलता नै गुम्छ ।’
त्यस्तै शिक्षकले राम्रो पढाए, ट्यूसन पढाउनुको कुनै अर्थ नहुने समेत उनले बताए । ‘शिक्षकले राम्रोसंग पढाए ट्यूसन पढाउनुपर्ने कुनै जरुरी हुँदैन’ उनले भने– ‘तर अहिले शिक्षकहरुले राम्रोसंग नपढाएर विद्यार्थीहरुलाई ट्यूसन तिर जानुपर्ने अवस्था छ ।’

अर्को तर्फ हरेक कुराहरु बच्चा अवस्थामै सिक्ने भएकाले बच्चा अवस्थामै सरल र सहज वातावरण हुनुपर्ने उनको भनाई थियो । ‘हामीले बच्चाको भविष्य राम्रो बनाउनका लागि उसका अगाडि नराम्रा कुनै पनि क्रियाकलाप गर्नुहुदैन्’ उनले भने ‘तर हामीले बच्चाकै अगाडि नराम्रा गतिविधि गर्छौं, बच्चालाई पढ् भन्छौँ तर आफै पढ्दैनौं, यस्ता क्रियाकलापले बालबालिकाको भविष्य सुधार हुँदैन् ।’ उनले स्मरण शक्ति सबैको बराबर हुने बताए । ‘स्मरण कसैको कम, कसैको बढि भन्ने भन्दा पनि हामी सबैको बराबर हुन्छ’ उनले भने ‘हाम्रो प्रयोग गर्ने तरिका मात्रै फरक हो ।’

हरेक कुरालाई अक्षर होईन्, फोटो बनाएर अध्ययन गरेमा सजिलै सम्झना सकिने बताए । ‘हामीले ट्याक्टिस लगाएर अध्ययन गरेमा सबैको स्मरण गर्न सक्छौं’ उनले भने ‘हरेक कुरालाई फोटो बनाएर अध्ययन गर्नुपर्छ ।’ त्यस अवसरमा भिक्टोरिया ट्यूसन सेन्टरका प्रमुख केशव लामिछानेले अब वार्षिक चारपटक शर्मालाई दाङमा ल्याएर विद्यार्थीको स्मरण शक्ति बढाउने बताए । उनले शर्मा नियमित दाङ आएमा यहाँको शैक्षिक स्तर बढ्ने बताए ।

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य सन्तोष केसीले गरेका थिए ।