स्थानीय तहमा प्राविधिक कर्मचारी भर्ना गरिने

0
Shares

हेटौंडा ।
मकवानपुरका स्थानीय तहमा प्राविधिक कर्मचारी अभावका कारण विकास निर्माणमा समस्या भएपछि कर्मचारी भर्ना गर्ने निर्णय गरिएको छ ।

कर्मचारी समायोजनपछिको समयमा पनि प्राविधिक कर्मचारी नभएपछि स्थानीय तहहरुले करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेका हुन् । जिल्ला समन्वय समिति मकवानपुरको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय तहहरुले सबै कर्मचारी संघ र प्रदेशमा समायोजन भएकोले स्थानीय तहमा कर्मचारीको व्यापक अभाव रहेको बताएका छन् । कर्मचारी अभावमा सोचेअनुसार काम गर्न नसकिएको उनीहरुको भनाइ छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय समितिको बैठक सोमबार बसेको छ । हरेक महिना २५ गते बस्ने नियमित बैठक सोमबार मकवानपुरगढी गाउँपालिकामा बसेको थियो ।

जिल्लाका १० वटै स्थानीय तहले एक महिनामा गरेका उपलब्धि एवम् समस्यालगायतबारे एकर्काबीच अनुभव आदानप्रदान गर्ने उद्धेश्यले जिससले हरेक महिना बैठक गर्दै आएको छ । यसअघि जिल्ला समन्वय समितिमै बस्ने गरेको नियमित बैठक यसपटक गढी गाउँपालिकामा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबारमा बसेको हो ।

बैठकले स्थानीय तह सञ्चालनमा देखिएका समस्या र चुनौती, जिल्लाको समग्र विकासमा साझा धारणा बनाउने, जिससले स्थानीय तहहरुमा गरेका अनुगमनको समिक्षा, मौज्दातकोष परिचालन, समन्वय बैठकमा भएका बिगतका निर्णयको समिक्षा तथा स्थानीय तहहरुले संघ÷प्रदेश सरकारसँग गरेका अपेक्षालगायत विषयमा छलफल गरेको थियो ।

कर्मचारी अभावका कारण परेका अप्ठ्यारोका विषयमा तत्काल संघीय मामिला मन्त्रालयमा जानकारी गराउने, आगामी बैठकमा सूचक पठाएर अनुभव आदानप्रदान गर्ने गरी छलफल गर्ने र जिल्लाको दररेटलाई आधार बनाएर स्थानीय दररेट कायम गर्ने तथा बालमैत्री, महिलामैत्री र अपांगमैत्री कुरालाई समेटेर स्थानीय तहहरुले कार्य गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले जिल्लाको समग्र विकासका लागि साझा धारणा बनाउने प्रतिवद्धता जनाएका छन् । बैठकमा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियो । जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा बैठक बसेको हो ।