देशलाई मगन्ते बनाउनु हुँदैनः शशांक कोइराला

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले देशलाई मगन्ते बनाउन र सर्वसाधारणमा करको भार थोपर्न नहुने बताउनु भएको छ । नेपाल प्रेस युनियन लमजुङको आयोजनामा बेसीशहरमा गरिएको पत्रकार भेटघाटका अवसरमा उहाँले मंगलबार त्यस्तो बताउनु भएको हो ।

संघीयता पाल्नका लागि सर्वसाधारणले ‘करको भारको मार’ कति खेप्न सक्छन् ? भन्ने पत्रकारको जिज्ञासामा कोइरालाले जनतामा करको बोझ थोपर्नु हुन्न मैले नेपाली काँग्रेसले जितेको स्थानीय तहमा कर नबढाउन निर्देशन दिएको छु र कति स्थानमा निर्णय फिर्ता भएको अवस्था पनि छ । उहाँले भन्नुभयो, ‘विदेशी अनुदान र करको भार कम गर्ने गरी सन्तुलनमा देश चलाउनु पर्छ, देशलाई मगन्ते बनाउनु हुँदैन ।’

यसैगरी, कोइरालाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार दुईतिहाईको दम्भमा अधिकायकवादतर्फ उन्मुख भई प्रदेश र स्थानीय तहलाई दिनु पर्ने अधिकार पनि नदिई केन्द्रीकृत शासन गर्न खोजिरहेको छ । ओलीले व्यवस्थापिका, कार्यपालिका कब्जा गर्ने, स्वतन्त्र न्यायालय र प्रेसमा धाबा बोल्ने, सुरक्षा परिषद समेत आफ्नो नियन्त्रणमा लिन ओली उद्दत छन् भन्ने दावी गर्नु भयो । यहाँले भन्नुभयो ‘विकासका काममा समेत एकलौटी ढंगले कम्युनिष्टकरण गरिएको छ ।‘ हामीले सदनमा सक्दो रूपमा विरोध गर्ने र जनताका पक्षमा बोल्ने गरिआएका छौँ कोइरालाले उल्लेख गर्नु भयो ।

पार्टीमा रहेको गुटबन्दी स्वीकार गर्दै कोइरालाले काँग्रैुसको अढाई वर्ष पछि हुने आउँदो महाअधिवेशनबाट पार्टी एक ढिका हुने दावी गर्नु भयो । ‘पार्टी एक ढिका बनाउने एजेण्डा के हो ?’, ‘काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले विधिमा विश्वास गरेर प्रष्ट नीतिका साथ कहिलेदेखि चल्छ होला ?’ भन्ने पत्रकारहरूको थप जिज्ञासामा कोइरालाले भन्नुभयो, ‘यो प्रश्न त शेरबहादुरजीलाई सोध्नु भए हुन्थ्यो, म त सधैं काँग्रेस विधिमा चल्नु पर्छ र एकै ढिका हुनुपर्छ भनिरहेको छु ।’

उहाँले विगतका जस्तो हिन्दूधर्मको पक्षमा वकालत गर्नु भएन तर सनातन संस्कृतिको संरक्षण र धर्म परिवर्तन गर्न नहुने जस्ता कुरामा काँग्रेस प्रष्ट छ त्यो मिल्दैन भन्नुभयो ।

‘पार्टीका जिल्ला सभापतिहरूको भेला गरेर सभापति देउवालाई कमजोर बनाउन खोज्नु भएको हो ?’ भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘महामन्त्रीको हैसियतले मैले कहिल्यै पनि सभापतिको विरुद्धमा छैन, मलाई थाहा छ मैले त्यो गरेभने पार्टी झनै कमजोर हुन्छ ।’

नेपाल प्रेस युनियन लमजुङका जिल्ला अध्यक्ष ऋषि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ, सरिता प्रसाई, संविधानसभा सदस्यद्वय कमला पन्त र चन्द्रबहादुर कुँवर, नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, क्षेत्रीय सभापति बृषराज गुरुङसहितका व्यक्तित्वहरूको उपस्थिति थियो । उक्त पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन लमजुङका जिल्ला सचिव अनुज अधिकारीले गर्नु भएको थियो ।

नेपाली काँग्रेसको जिल्ला भेलाको उदघाटन गर्न लमजुङ आउनु भएका कोइरालाले उक्त कार्यक्रममा सरिक हुनु अघि बेसीशहर नगर समितिका सदस्य बन्धुराज अधिकारीको ७औं पुण्यतिथिमा उनको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।