‘खतना’ (लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने काम) गर्दा बालकको मृत्यु

0
Shares

फाइल तस्बिर

महोत्तरी । लोहारपट्टी नगरपालिकामा मुस्लिम परम्परा अनुसार खतना (लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने काम) गर्दा एक बालकको मृत्यु भएको छ ।

सोमबार राति लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना गरिएपछि अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले आज बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

मुस्लिम समुदायमा खतना अनिवार्य मानिन्छ । खतना नगरेसम्म कुनै पनि मानिस मुस्लिम भएको मानिदैँन ।