राप्रपा माथि प्रहरी हस्तक्षेप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रम माथि प्रहरी हस्तक्षप भएको छ । हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि देशव्यापी आन्दोलन गरिरहेको राप्रमामाथि काठमाडौंमा प्रहरी हस्तक्षप भएको हो ।

पुर्वघोषित कार्यक्रम अनुसार अध्यक्ष कमल थापाको नेतृत्वमा भएको कार्यक्रममाथि प्रहरीले हस्तक्षप गरेपछि राप्रपा कार्यकर्ताहरु आक्रोशित भएका छन् ।

सोमबार आफ्नो कार्यक्रम स्थलबाट अध्यक्ष थापा लगाएत केहि शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित भएका राप्रपा कार्यकर्ता र प्रहरी वीचको झडपले उग्र रुप लिएपछि केहि बेर यो स्थल तनावग्रस्त बनेको थियो ।
प्रहरीले पद्मोदय मोडमा अध्यक्ष थापालाई नियन्त्रणमा लिएपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच केहिबेर झडप पनि भएको थियो ।

कार्यक्रमको लागि प्रदर्शनी मार्गमा आउने क्रममा पद्मोदय मोडमा प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको थियो । हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायत २२ वुदे माग पुरा गर्न राप्रपाले सोमबार काठमाडौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो ।
घटना लगत्तै राप्रपाले एक विज्ञप्ती जारी गरि हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरू राखी काठमाडौंमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको व्यापक प्रशासनिक दमनको निन्दा एवं भत्सर्ना गरेको छ ।

शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको उपयोग गरि धर्ना बस्ने पूर्व निर्र्धािरत कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको राप्रपाले जनाएको छ ।

राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरि आफ्ना मागका सम्बन्धमा जनमत सिर्जना गर्ने र सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले जनसंघर्षको घोषणा गर्दै शान्तिपूर्ण प्रदर्शनमा होमिएको राप्रपा प्रचार विभाग प्मुख मोहन श्रेष्ठले जानकारी दिनु भएको छ ।

राप्रपाले पोखरामा धर्ना बस्ने क्रममा गण्डकी प्रदेश प्रमुख हेमजङ्ग गुरुङ, केन्द्रीय सदस्य जयलाल पुन, कास्की अध्यक्ष डा.महेन्द्र बहादुर कार्की सहित १९ जनालाई केही समय प्रशासनले नियन्त्रणमा लिएको छ । पोखरामा शान्तिपूर्ण धर्नामा बसेका पार्टीका नेताहरूलाई नियन्त्रण लिइएको घटनाको प्रति पनि निन्दा गरेको छ ।

राप्रपाले जनसंघर्ष अन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहमा १ घण्टा धर्ना दिने, वैशाख ५ गते धर्म निरपेक्षताको प्लेकार्ड र व्यानर जलाउने, बैशाख ८ गते राजमार्ग र चोकहरुमा हुने सत्याग्रहलाई थप प्रभावकारी बनाउने जनाएको छ ।