मन्दिर एवं सत्तल निर्माण गर्न महायज्ञ सुरु

0
Shares

भक्तपुर, (नेस) । मध्यपुरथिमि नगरपालिका ५ संगम कोलोनी राधे राधेस्थित सङ्गगमेश्वर महादेव मन्दिर तथा सत्तल निर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको उद्घाटन प्रतिनिधीसभाको सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले गर्नुभयो ।

उहाँले आध्यात्मिक बाटोले विकास निर्माण र व्यक्तिलाई सचित्रवान बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । उहाँले पानी पर्दा यसक्षेत्रका बासिन्दा डराउनु पर्ने अबस्थाको अब अन्त्य हुने बताउदै यो क्षेत्रलाई डुबान मुक्त बनाउन यसवर्षबाट नै हनुमन्ते करिडोर निर्माण सुरु गरिएको बताउनुभयो ।

बस्नेतले महायज्ञमा रु. १० हजार सहयोग गर्ने र मन्दिर निर्माणका समयमा कम्तीमा पाँच लाख रुपैयासम्म सहयोग जुटाउने बताउनुभयो ।कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ लगायतले दाताहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।
एक करोड २० लाख रुपैयाको लागतमा पयागोडा शैलीमा नयाँ मन्दिर निर्माण गर्ने र निर्माण भईरहेको सत्तललाई पूर्णता दिन आर्थिक सहयोग संकलन गर्ने उदेश्यले सुरु भएको महायज्ञ आगामी ३० गतेसम्म संचालन हुने सङ्गगमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिनुभयो ।

नयाँ तथा पुरानो बस्तीका लागि पवित्र धार्मिक स्थलको रुपमा समेत स्थापित उक्त मन्दिरमा स्थानीय बासिन्दाले बिभिन्न धार्मिक अनुष्ठान एवं शुभ कार्यमा समेत प्रयो गर्न सकिने गरि भौतिक संरचना निर्माण गर्न लागेको उहाँले बताउनुभयो । महायज्ञमा प्रह्लादराज न्यौपानेबाट कथा वाचन हुंदै छ ।यस अघि सयौको संख्यामा कलश यात्रा समेत भएको छ।