विद्यालयलाई नतिजा प्रकाशनमा भ्याईनभ्याई

0
Shares

कपिलवस्त ।
यतिबेला कपिलवस्तुसहित देशका विभिन्न जिल्लाका सामुदायिक र निजी विद्यालयहरुलाई वार्षिक नतिजा प्रकाशनमा भ्याईनभ्याई छ ।

नयाँ शैक्षिक सत्रको शुरुवातसँगै विद्यार्थी भर्ना अभियान संचालन गरी विद्यार्थी आकर्षण गर्न विद्यालयहरुलाई नतिजा प्रकाशनमा दौडधुप चलेको हो । कपिलवस्तुका कतिपय विद्यालयले नतिजा प्रकाशन गरी भर्ना अभियान शुरु गरिसकेका छन् भने कतिपय विद्यालयहरुमा नतिजा प्रकाशनको तयारीमा छन् ।

यसै सिलसिलामा जिल्लाको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालय २८औं वार्षिकोत्सव तथा १४औं अभिभावक दिवससहित वार्षिक नतिजा प्रकाशन गरेको छ ।

कार्यक्रमको अवसरमा विभिन्न बक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षक अभिभावकबीच प्रगाढ सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका वरिष्ठ सदस्य बुधराम थारु, शिवराज जेसिजका अध्यक्ष सरोज पौडेल, भूपू सैनिक कल्याणकारी कोषका अध्यक्ष धनबहादुर के.सी., समाजसेवी एवं शिक्षाप्रेमी विष्णुप्रसाद अधिकारी, पूर्व शिक्षक विष्णुबहादुर जिसी, व्यवस्थापन समिति सदस्य ऋषिराम खनाल, जनआदर्श युवा क्लबका अध्यक्ष योगेन्द्र पुन लगायतले अभिभावकहरुकै बेवास्ताका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको आरोप लगाए । निजी विद्यालयमा पढ्ने छोराछोरीको ख्याल गर्ने अभिभावकले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पढाइप्रति विशेष ध्यान दिने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा समेत आमूल परिवर्तन आउने वक्ताहरुले औल्याएका थिए । विद्यालयको अग्रगामी विकासका लागि अभिभावकहरु जागरुक हुनुपर्ने उनीहरुले जोड दिए ।

यसैबीच विद्यालय उत्कृष्ट, कक्षा उत्कृष्ट र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने बालबालिकाहरुका लागि शिवराज जेसिजका अध्यक्ष एवं हाम्रो पुस्तक पसलका प्रोप्राइटर सरोज जिसीले पुरस्कार सौजन्य गरेका थिए । स्वर्गीय आमा–बुवाको स्मृतिमा पौडेलले पुरस्कार सौजन्य गरेका हुन् । विद्यालयमै उपस्थित भई पौडेलले बालबालिकाहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा दुईसय जनालाई खाजाको लागि गंगादेवी ट्रेडर्सका प्रोप्राइटर दमन प्रसाद क्षेत्री र युवा व्यवसायी रामचन्द्र के.सी.ले सौजन्य गरेको विद्यालयले जनाएको छ । पौडेलले यस वर्ष मात्र नेपाल राष्ट्रिय आधारभूत विद्यालय भगवानपुरका बालबालिकाका लागि समेत पुरस्कारको सौजन्य गरेको बताइएको छ । पुरस्कार वितरण गर्दै पौडेलले स्वर्गीय बुबा आमाको स्मृतिमा यस किसिमको कार्यलाई निरन्तरता दिंदै जाने बताएका छन् । केही वर्षभित्र शिवराज नगरपालिकाका सबै विद्यालयमा पालो गरी शैक्षिक सहयोग गर्ने उद्घोष गरेका छन् । यसका साथै विद्यालयका शैक्षिक गतिविधिमा चासो देखाउने तीन जना अभिभावकलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ऋषिराम खनाल, बुधराम थारु र राजी थारु रहेका छन् । कार्यक्रमको अवसरमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।