गल्छीमा बिन लघुवित्त    


गल्छी,  धादिङको गल्छी गाउँपालिका– ७ मा स्थानीय महिलालाई समूहमा ऋण प्रवाह गर्न ‘बिन लघुवित्त वित्तीय संस्था लिमिटेड’को स्थापना गरिएको छ ।

विभिन्न प्रकारका व्यवसाय सञ्चालन गर्न चाहने महिला समूहलाई आम्दानी अभिवृद्धि गर्ने उद्देश्यले उक्त संस्था खोलिएको हो । संस्थाको चुक्ता पूँजी रु छ करोड तथा जारी पूँजी रु दुई करोड १० लाख छ । प्रदेश नं– ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वित्तीय संस्थाको आइतबार शुभारम्भ गर्दै स्थानीय तहदेखि नै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वस्तु तथा सामग्रीको आयात कम गरी दैनिक आवश्यक वस्तुको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सो गाउँपालिका– ७ का वडाध्यक्ष कृष्णहरि श्रेष्ठले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि जनसङ्ख्याको अनुपातमा उत्पादन बढाउन खाँचो रहेको बताउँदै स्थानीय महिलाको सामाजिक रुपान्तरणका लागि स्थापना भएको संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष रेणु स्थापित, उद्यमी रमादेवी श्रेष्ठ, श्यामवदन श्रेष्ठ, रीता भण्डारीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताउनुभयो ।
रासस