काठमाडौं महानगरपालिकाको चौथौ नगर सभा सम्पन्न

0
Shares

काठमाडौं (नेस) । स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै आइतबार काठमाडौं महानगरपालिकाको चौथौ नगर सभा सम्पन्न भएको छ । काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा सम्पन्न सभामा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, कार्यपालिका सदस्य र वडा सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।

नगर सभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — यो कानून तर्जुमा गर्ने अधिवेशन भएकोले, सभा सहरी व्यवस्थापनका आवश्यक पर्ने कानुन तर्जुमा गर्न अधिवेशन केन्द्रीत भएको बताउनुभयो । बिधिको शासनमा कानुनी आधार महत्बपूर्ण हुन्छ ।

उहाँले, संविधानले स्थानीय तहलाई दिएका एकल र साझा अधिकारका सूचीबाट प्राप्त जिम्मेवारीलाई पूरा गर्न अहिले तर्जुमा भएका कानूनले सहज बनाउने धारणा राख्नुभयो । त्यस्तै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — कानून निर्माण चित्त बुझ्दो ढङ्गबाट अघि बढेकोले यसका व्यवस्था कार्यान्वयन गरेर नागरिकलाई जनप्रतिनिधि भएको महसुस गराउनु पर्ने धारणा राख्नुभयो ।

नगरसभाले स्वीकृत गरेका विधेयकहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ छन् ।

यी विधेयकसँगै चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रमहरुमा रकमान्तर गरिएको छ । काठमाडौँ महानगरपालिकामा विद्युतीय शासनलाई प्रभावकारी बनाउने घोषित नीति अनुरुप सम्पूर्ण तथ्याङ्क संकलन गर्नका लागि बजेट थप गरेको छ ।

जस अन्तर्गत जीआईएस डाटा कलेक्शन शीर्षकमा तीन करोड ८७ लाख कम थप गरिएको छ । नेपाल एम्बुलेन्स सेवा सञ्चालन खर्च अनुदान शीर्षकमा खर्च हुन नसकेको रकम रकमान्तर गरिएको छ । त्यसैगरी संयन्त्र उपकरण दमकल खरिद शीर्षकमा १३ करोड, ब्रुमर खरिद शीर्षकमा १० करोड रकमान्तर गरिएको छ । त्यसैगरी संघीय संसद कोषबाट सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश सरकारको सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम, जग्गा विकास कार्यक्रम लगायतका शीर्षकमा पनि रकम थप गरिएको छ ।

महानगर विशेष कार्यक्रम अन्तर्गत शीर्षकको रकम कम गरिएको छ । यससँगै हनुमानढोका दरबार संरक्षण कार्यक्रमको ३९ लाख रुपैयाँ बजेट पनि रकमान्तर गरिएको छ ।

नगरसभा बैठकमा नगरसभा सदस्यहरूले कार्य बिभाजन सम्बन्धि, बिभिन्न समिति गठन सम्बन्धि, वरियताक्रम निर्धारण सम्बन्धि, व्यक्तिगत घटना दर्ता सम्बन्धि, विषयगत शाखाले बिनियोजित रकम खर्च गर्ने सम्बन्धि, बिनियोजित बजेट रकम वडा समितिले खर्च गर्ने सम्बन्धि, बिषयगत समिति पुनर्गठन गर्ने सम्बन्धि गरी सात वटा प्रस्ताव दर्ता गरेका थिए ।