कर्मचारी आन्दोलनले महानगरको काम ठप्प

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज,
वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प छ।पर्साको स्थानीय तह अन्तर्गत कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि महानगरको काज प्रभावित भएको हो।

पाँच सय ७० कर्मचारी यही चैत १७ गतेदेखि नै महानगरपालिका कार्यालयका वारुणयन्त्र महाशाखा बाहेक अरु सबै महाशाखा र शाखामा तालाबन्दी गरेर धर्नामा बसेपछि काम प्रभासवत भएको हो । स्थानीय तहका स्थायी कर्मचारीको निजामती सरह वृत्ति विकास र बढुवा हुनुपर्ने, करार र ज्यालादारीमा कार्यरतको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, तहगत दरबन्दी लागु गर्नुपर्ने माग आन्दोलनरत कर्मचारीले अघि सारेका छन्।

महानगरपालिकामा एक सातादेखि तालाबन्दी नै गरेर कर्मचारी आन्दोलनमा रहेका कारण, कार्यालयमा पुग्ने सेवाग्राही दिनहु निराश भएर फर्किने गरेका छन्। यसका साथै विकास निर्माणका योजना र कार्यालयका प्रशासनिक कामकाज पनि प्रभावित छ। कर्मचारीको मागको सम्बोधन संघीय कानुनसँग जोडिएको विषय भएकाले महानगरपालिकाले पूरा गर्न नसक्ने बताउदा समेत कर्मचारीहरुले अटेर गरेको मेयर विजय सरावगीको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारीको माग, कानुन सम्मत नरहेकाले तत्कालै सम्बोधन हुने अवस्था नरहेको स्पष्ट पारिसकेको छ।

आन्दोलनरत कर्मचारीलाई आन्दोलन फिर्ता लिएर काममा फर्कन आफूले आग्रह गरेपनि कर्मचारीहरुले अटेर गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो । यसैबीच शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि महानरपालिकामै पुगेर आन्दोलन रोकेर काममा फर्किन कर्मचारीलाई निर्देशन दिनुभएको थियो उहाँले काममा नफर्किए कारबाही गर्ने चेतावनीसमेत दिएपनि कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्।

स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाइका अध्यक्ष मुकेश गुप्ताले मन्त्रीले भनेपनि आफूहरुको माग संबोधन नभएसम्म काममा नफर्कने बताउनुभएको छ ।