सडक निर्माणमा लापर्वाही

0
Shares

सरोज यादव, मोरङ
मोरङको कटहरी गाउँपालिका–४ मा ठेक्का सम्झौताविपरीत सडक निर्माण भइरहेको फेला परेको छ । सो ठाउँमा जारी सडक निर्माणमा सम्झौताविपरीत सडक छेउकै माटो काटेर सडक पुर्ने काम भएको छ ।
कटहरी–४ को जुडीघाट पश्चिम–दक्षिणतर्फको यो सडक निर्माणको काम गएको १० दिन अघिबाट सुरु भएको छ । सो क्रममा मुख्य सडकखण्डदेखि उत्तरतर्फ सडक कालोपत्रे गर्ने काम सुरु भएको हो । सडक निर्माणको प्रारम्भिक चरणमा यतिखेर माटो पुरेर ग्रेडिङको काम शुरु भएको छ । ठेक्का सम्झौतामा ठेक्का सकार गर्ने पक्षले बाहिरबाट माटो ल्याएर पुर्नुपर्ने भए पनि त्यसो नगरिएको फेला परेको छ ।

ठेकेदार पक्षले निर्माणाधिन सडक किनारको दुवैतर्फ गहिरो खाडल पर्ने गरी माटो निकाल्दै सोही माटो पुरेर निर्माणलाई अघि बढाएको छ । ठेक्का सम्झौताविपरीत माटो निकाल्दा स्थानीयले विरोध गरे पनि त्यसको सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् । स्थानीय मुस्कान कार्कीले घरकै अगाडि कालोपत्रे हुने भएपछि आफूहरु खुसी रहे पनि घरआँगनकै अगाडि गहिरो खाडल पर्ने गरी माटो काटिएका कारण जोखिम निम्तिएको बताउनुभयो ।

घरआँगनकै सामुन्ने खाडल बनाइएपछि बालबालिकाहरु डुब्न सक्ने जोखिम निम्तिएको उहाँले बताउनुभयो । १० दिनअघिबाटै सो ठाउँमा सडक निर्माणको काम सुरु भए पनि ठेकेदार पक्षले अहिलेसम्म ठेक्का सम्झौतासम्बन्धि सूचनामूलक बोर्डसमेत नराखेको पाइएको छ ।

सडक निर्माणसम्बन्धी सूचना पाउन नसकेका सर्वसाधारण अन्यौलमा छन । गाउँपालिकाको ३५ लाख ४१ हजार बढी बजेटबाट सो ठाउँमा ५ सय ९५ मिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको कटहरी गाउँपालिकाले जानकारी दिएको छ । सो क्रममा जुडीचोक सडकदेखि उत्तर चुल्हाइ साहको घरसम्म कालोपत्रे सडक निर्माण गर्न लागिएको हो ।

गाउँपालिकका इन्जीनियर प्रकाशकुमार गुप्ताले ठेक्का सम्झौताविपरीत सडक किनारबाटै खाडल खनेर माटो निकाल्ने काम भएको विषयमा सम्बन्धित ठेकेदारलाई त्यसो नगर्न पत्र काटिसकिएको जानकारी दिनुभयो । उहाँले सम्झौताविपरीतको काम भए रकम भुक्तानी नदिने चेतावनी दिनुभयो । सडक निर्माणको ठेक्का विराटनगरस्थित कला बिल्डर्सले पाएको छ । फागुन ३० गते भएको सम्झौताअनुसार २०७६ जेठ २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ ।