गोरखा (नेस)
जिल्लामा गुणस्तरीय र भरपर्दो रुपमा विद्युत आपुर्ति हुन थालेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन सञ्चालनमा ल्याएसँगै जिल्लामा गुणस्तरीय विद्युत आपुर्ति हुन थालेको केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
‘अब भोल्टेज कम हुने, पटक पटक लाईन जाने समस्या हुँदैन’ उनले भने ‘दमौली–डुम्रे–आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, टाढाबाट विद्युत ल्याउँदा धेरै समस्या थियो, अब मार्कीचोक सबस्टेसनबाट आँबूखैरेनी हुँदै गोरखामा विजुली आउँछ । २६ किलोमिटर दुरी छोटिएपछि चुहावट पनि घट्ने भो ।’गोरखाले बिहिबारबाट मात्रै ३३ केभी क्षमताको विद्युत पाएको उनले बताए । ‘गोरखामा ३३ केभी लाईन भनिएपनि पुर्ण क्षमतामा विजुली थिएन’ उनले भने ‘टाढाबाट ल्याउँदा भोल्टेज ३० ÷३१ केभीको मात्रै, तर बिहिबारबाट ३३ केभी क्षमताकै विजुली आएको छ ।’
यसबाट उद्योग ब्यबसाय लगायत घरेलु ग्राहकलाई समेत फाईदा पुग्ने उनले जान कारी दिए ।मध्यमस्र्याङ्दी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्व विक्रम शाहका अनुसार, अब मध्यमर्स्याङ्दी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो मर्स्याङ्दीतर्फ पनि निकाल्न (लुप आउट) गर्न सकिने छ ।आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमर्स्याङ्दी तथा दमौली सबस्टसनमा क्रमशः १ र २ वटा वे र तल्लो मस्र्याङ्दीमा जीआईएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग आर्थिक वर्ष २०६९÷७०मा ठेक्का सम्झौता गरेको थियो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋण रहेको आयोजना को अनुमानित लागत ६० करोड रुपैयाँ थियो । अनुमानित लागतभित्रै निर्माणसम्पन्न भएको प्रमुख शाहले बताए ।











प्रतिक्रिया