शहरी पुर्वाधारका लागि काभ्रे भ्याली

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकासँगै बेथाञ्चोक गाउँपालिकाको सबै सिमाना भित्र रहेका क्षेत्रमा रणनितीक शहरी पुर्वाधार विकास योजना परियोजना संचालन गर्न काभ्रे भ्याली निर्देशक समिति गठन भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोग तथा सहजिकरणमा धुलिखेल नगरपालिकामा आयोजित परिचयात्मक कार्यशाला गोष्ठीबाट नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु निर्देशक समितिको संयोजक चयन हुनु भएको छ । निर्देशक समितिमा तीनवटा नगरपालिका र एउटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, प्रत्येक स्थानीय तहका दुई÷दुई जना वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघका प्रतिनिधि, गैसस प्रतिनिधि, होटल ब्यवसायी लगायतका क्षेत्रबाट प्रतिनिधित्व हुने छ ।

समितिले काभ्रे भ्यालीको शहरी पुर्वाधार विकास योजना परियोजना संचालनमा आवश्यक तथ्यांक प्राप्तीमा समन्वय, सहजिकरण तथा निर्माणधिन र निर्माण गर्नुपर्ने पूर्वाधारहरुको सुचना उपलव्ध गराउने छ । त्यस्तै कार्यक्रमको नतिजा तथा उपलव्धीहरुको अनुमोदन र अन्य आवश्यक समन्वय तथा सहजिकरण गर्ने शहरी योजनाविद् तथा सिभिल इन्जिनियर सुमन पाठकले बताए ।

परियोजनाका बारेमा जानकारी गराउँदै पाठकले पहिलो चरणमा परियोजनाको परिचयात्मक कार्यक्रम, काभ्रे भ्यालीको सिमाना निर्धारण, निर्देशक समिती गठन, काभ्रे भ्यालीको पूर्वाधार विकाससँग सम्वन्धित सबल पक्ष, कमजोर पक्ष, अवसर तथा चुनौतिको पहिचान, विषयगत शहरी पूर्वाधार आवश्यकता पहिचान गरिएको बताए ।

परियोजनाले काभ्रे भ्यालीको दुरदृष्टी, लक्ष्य र उदेश्य सहितको रणनितीक शहरी पूर्वाधार विकास योजना तयार गर्नेछ । रणनितीक पूर्वाधार विकास योजनाले निर्देशित गरेका दुई परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ भने स्रोत तथा विषयगत नक्सा तयार गर्नेछ । त्यस्तै भु– उपयोग बर्गिकरण गर्नेछ । परियोजना सम्पन्न भए पछि भु उपयोग बर्गिकरण सहित स्रोत तथा विषयगत नक्सा, काभ्रे भ्यालीको दुरदृष्टी, लक्ष्य र उदेश्य सहितको रणनितीक शहरी पूर्वाधार विकास योजना तयार हुनेछ । छोटो समय, मध्य समय र दीर्घकालिन समयका लागि आवश्यक पूर्वाधारहरुको सुचिकृत गरी रणनितीक पूर्वाधार विकास योजनाले निर्देशित गरेका दुई परियोजनाको लागत अनुमान सहित विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ ।

परियोजनाको प्रारम्भिक प्रतिवेदन पेश भए लगत्तै विस्तृत योजनाका लागि आवश्यक सर्भे तथा अन्य तथ्यांक संकलन तथा डिपिआर २०७६ आषाढ मसान्त सम्म तयार हुनेछ । आषाढ मसान्त सम्म अन्तिम प्रतिवेदन तयारी गरी विभागको सुझाव सहित निर्देशक समितीमा छलफल तथा राय सुझाव सहित परिमार्जन गरी श्रावण दोस्रो हप्ता सम्म पेश हुनेछ । परिमार्जित अन्तिम प्रतिवेदन विभाग तथा काभ्रे भ्यालीको निर्दशक समितीमा पेश हुनेछ ।

समिति गठन भए लगत्तै काभ्रे भ्याली निर्देशक समितिका संयोजक एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले समग्र काभ्रेको हितका लागि काभ्रे भ्याली परियोजनाले विस्तृत योजनाहरु तयार गरी अगाामी आर्थिक वर्षबाटै कार्यान्वयन हुने गरी कार्य सम्पन्न गर्ने बताउनु भयो । परियोजनाका सन्दर्भमा आवश्यक छलफल गरी टुङ्गयाउने संयोजक ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृतहरु, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।