प्रकोपपीडितलाई ५ दिनपछि मात्र सरकारी सामग्री

0
Shares

हेटौंडा, (नेस)
विशेषतः तराईका जिल्लामा हुनसक्ने दैवीप्रकोपका घटनालाई दृष्टिगत गरेर हेटौंडामा स्थापित क्षेत्रीयस्तरको सुविधासम्पन्न वेयरहाउस (गोदाम) ले बारा र पर्सामा प्राकृतिक विपत्ति परेको ५ दिनपछि मात्र केही सामग्री सहयोग गरेको छ ।

एकैपटक करिब बीसहजार पीडितका लागि उद्धार सामग्री सञ्चित गर्नसक्ने क्षमता रहने वेयरहाउसले गृह मन्त्रालयको निर्देशनपछि बिहीबारमात्र केही सामग्री पठाएको हो । गृह मन्त्रालयले निर्देशन दिएपछि उक्त गोदामले ५ सय थान त्रिपाल र ३ सय थान चाइनिज टेन्ट सहयोग गरेको हो ।

हेटौंडा–११ को थानाभ¥याङमा निर्माण गरिएको गोदाम प्राकृतिक विपत्ति सहेको बाराबाट करिब ५० किलोमिटरमात्र दुरीमा पर्दछ । २०७२ मा स्थापित गोदामलाई मन्त्रालयले विपत्तिलगत्तै सम्झिदिएको भए त्यहाँका प्रभावितले ५ दिनसम्म यत्तिका पीडा सहनुपर्ने थिएन ।

गृहको निर्देशनपत्र प्राप्त भएपछि प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बाराका प्रमुख जिल्ला अधिकारीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।

करिब दश कठ्ठा जग्गामा करिब पाँच करोड लागतमा सुविधासम्पन्न गोदाम बनाइएको छ । भवन निर्माणका लागि आवश्यक जग्गा सामुदायिक सेवाकेन्द्रले उपलब्ध गराएको थियो ।

भवनमा नेपालमा ठूलो प्राकृतिक प्रकोप आए यस क्षेत्रका पीडितका लागि आवश्यक जनशक्ति र उद्धार सामग्री सुरक्षित राखिएको छ । उक्त भवनमा कुनै पनि बेला सञ्चार सम्बन्ध विच्छेद नहुने गरी भुउपग्रह प्रविधिमार्फत् सञ्चार प्रविधि जडान गरिएको बताइन्छ ।

बारा र पर्सामा हावाहुरीले पारेको विपद्बाट २ हजार ४ सय ४ घरमा क्षति पुगेको छ । बारामा १ हजार ८ सय ९५ घर र पर्सामा ५ सय ९ घर नराम्ररी प्रभावित भएका हुन् । प्रारम्भिक सर्वेक्षणअनुसार १ हजार ६२ घर पूर्णक्षति भएको छ र १ हजार तीन सय ४२ घरमा आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसाबले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।

बारामा ९ सय ४० घर पूर्णक्षति छ भने ९ सय ५५ घर आंशिक क्षति छ । पर्सामा १ सय २२ घर पूर्णक्षति भएका छन् भने ९ सय ४० घरमा आंशिक क्षति भएको छ । राहतका लागि आएको टोलीसमेत बारामा केन्द्रित भएपछि पर्साका हावाहुरीपीडितले भने राहत पाउन सकेका छैनन् ।