यात्रुलाई दुःख दिने १४ विरुद्ध मुद्दा

0
Shares

महेन्द्रनगर, (नेस)
कञ्चनपुरको सदरमुकाममा रहेको महेन्द्रनगर बसपार्क व्यवस्थित बनेको छ । स्थानीय प्रशासन, यातायात व्यवसायी, प्रहरी, होटल व्यवसायी र स्थानीयको सक्रियतामा जिल्लाकै नमूना बसपार्क व्यवस्थित बनेको हो ।

बसपार्क व्यवस्थित गर्न महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदूतका केशव जोशी, नमस्ते शुक्लाफाँटाका दिलीप कुँवर, ट्राफिक प्रहरी निरीक्षक भरत शाह, वडा प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका डिएसपीले अगुवाई गरेका थिए ।

पवनदूत यातायात कम्पनी प्रालिका इन्चार्ज किशन चन्दले स्थानीय प्रशासन, व्यवसायी र कर्मचारीको सहकार्यमा बसपार्कलाई व्यवस्थित गरिएको बताए । उनका अनुसार भीमदत्त नगरपालिकाले १४ करोड लगानीमा १ विगाहा जमिनमा नमूना बसपार्क निर्माण गरेको हो । बसपार्कमा यात्रुको तानातान गर्ने, झोला लुट्नेलगायत यात्रुले दुःख पाउने गतिविधिलाई नियन्त्रण गरेर व्यवस्थित बनाइएको उनले बताए ।

उनका अनुसार बसपार्क व्यवस्थित अभियानमा बाधा पुर्याउने १४ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दामा कारवाही अगाडि बढाइएको छ । वडा प्रहरी कार्यालयले शुक्रवार ११ र शनिवार ३ जनालाई पक्राउ गरेको छ । पवनदूत यातायातका इन्चार्ज चन्दले बसपार्क व्यवस्थित भएपछि यात्रुले फरक महसुस गरेको र खुसी भएको दाबी गरे ।